
झापाको बुद्धशान्ति गाउँपालिका– ४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करिब १६ सय ३६ किलो गाँजासहित दुई वट ट्रक नियन्त्रणमा लिएको छ ।
गाँजासहित धनकुटाको शहीदभूमी नगरपालिका– ४ बस्ने महेश राई र इलामको माईजोगाई गाउँपालिका– २ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेतलाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकमा ५७ वटा बोरामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
साथै उनीहरूको साथबाट प्रहरीले ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता थापाले जानकारी दिए ।