
सालकको खपेटाजस्तो देखिने वस्तुसहित काठमाडौंमा एक जना पक्राउ परेका छन् ।
शनिबार बेलुका करिब साढे ५ बजेतिर चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित चित्लाङ-थानकोट सडकखण्डमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले दोलखाका ३२ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको हो ।
मकवानपुरको चित्लाङबाट थानकोटतर्फ आउँदै गरेका दोलखाको शैलुङ गाउँपालिका-६ का सुवासलाई खानतलासी गर्ने क्रममा उनको साथमा रहेको कालो रङको झोलाभित्र अखेटोपहार सालकको खपेटाजस्तो देखिने वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सालकको खपेटाजस्तो देखिने वस्तु ८ थान, नङ्ग्रा एक थान, एकिन खुल्न नसकेको हड्डी एक थान, दुम्सीको काँडाजस्तो वस्तु तीन थान, नगद ५२ हजार र कलर्स कम्पनीको सादा मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी, एसपी अपील राज बोहराले जानकारी दिए ।
पक्राउ परेका तामाङलाई बरामद सामग्रीसहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय, काठमाडौं हात्तीसार बुझाइएको एसपी बोहराले बताए ।