२२ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

चैत १८, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भमै सम्बोधन गर्ने कार्यसूची तय भएको हो । 

बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा लगातार जारी राखेको संसद्को अवरोध अन्त्य हुने विश्वास गरिएको छ । आजको बैठकबाट नै महत्वपूर्ण पाँचवटा प्रतिस्थापन विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ ।

बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने सूची छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्