३० असार २०८३, मंगलबार

राजावादीको प्रदर्शनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने

चैत १९, २०८१
काठमाडौं
राजावादीको प्रदर्शनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने

यही चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरूको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ । 

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिए । 

सरकारले उक्त प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सो क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासहित उक्त प्रदर्शनका क्रममा घाइते हुनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । 

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । 

पूर्वराजाका समर्थकहरूद्वारा भएको अराजक प्रदर्शनका क्रममा निजी, सार्वजनिक एवं सरकारी सम्पत्ति, अस्पताल, सवारीसाधन, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहहरूमा भएको आक्रमण, आगजनी र तोडफोड एवं अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुङ्गामुढा, आगजनी र मानिसको ज्यान जानेगरी अमानवीय र गैरकानूनी कार्य गर्ने, तोडफोड र लुटपाट गर्नेजस्ता कार्य भएकामा सरकारले घोर भर्त्सना गरेको छ ।     
     
यसैगरी, सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन सेवा केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी ऐन ५७ करोड ३० लाख अनुदान सहायता प्राप्त गर्ने भएको छ । 

आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको हिस्साको अनुमानित रकम स्वीकृत गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्नेसमेत निर्णय रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्