
आठ महिनामा देशको कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब नाघेको छ ।
चालू आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) देशको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २४ खर्ब ९ अर्ब २५ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ३० अर्ब ३१ करोड रहेको छ भने, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ७८ अर्ब ९५ करोड रहेको छ ।
आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।