
गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गरेका छन् ।
नयाँ वर्ष २०८२ सालको अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
उनले सन्देशमा भनेका छन्, ‘हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा र समावेशी चरित्रको राज्य निर्माण गर्ने राजनीतिक व्यवस्थामा छौं, नयाँ वर्षसँगै यो व्यवस्था अझै सुदृढ हुने छ ।’
उनले नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, समाज भएको देश भएको उल्लेख गर्दै त्यो नै नेपालीको सम्पत्ति र विशेषता भएको उल्लेख गरेका छन् ।
नेपाली समाज सबै जातजाति धर्म, वर्ण, समुदाय र भूगोल एकआपसमा मिलेर बसेको समाज रहेको स्पष्ट पार्दै उनले एक अर्काप्रति सहिष्णु हुँदै सबैले एक अर्काको धर्म, जाती, संस्कृति र भाषालाई सम्मान गर्दै मिलेर देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।