
कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लेखकले गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका हुन् ।
‘सरकार राम्रैसँग अगाडि बढिरहेको छ । हाम्रा बीचमा कुनै समस्या छैन । दुई दलका बीचका कुनै समस्या भयो कि भन्ने कुरा बाहिर आएका छन् । तर, हामीबीच केही भएको छ’, उनले दाबी गरे ।
उनले आर्थिक सूचकाङ्कहरू सुधारतर्फ गएको उल्लेख गर्दै गठबन्धन सरकारको कामकारबाही पनि सकारात्मक ढंगले अघि बढेको जिकिर गरे ।
उनले बैठकमा समसामयिक विषय वस्तुका साथै शिक्षकको आन्दोलनबारे छलफल भएको जानकारी दिए । यसअघि नै सरकारले शिक्षकको मागसमेत सम्बोधन गर्ने अभिप्रायले संसदको अधिवेशन बोलाइसकेको उल्लेख गर्दै लेखकले आजको बैठकले पनि सरकार माग पूरा गर्न प्रतिबद्ध रहेकाले आन्दोलन स्थगित गर्न आग्रह गरेको बताए ।