२५ जेठ २०८३, सोमबार

कोरियाबाट आएर श्रीमतीको हत्या, श्रीमानले दिए पाँच लाखको सुपारी !

बैशाख ४, २०८२
विराटनगर
कोरियाबाट आएर श्रीमतीको हत्या, श्रीमानले दिए पाँच लाखको सुपारी !

सुनसरीको धरानस्थित जंगलमा गत सोमबार अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हत्यामा उनकै श्रीमानको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमानले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।​

चुनकुमारीको शव धरानको जंगलमा भेटिएको थियो । त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले गरेको अनुसन्धानपछि श्रीमान प्रेम दाहालको मुख्य योजनामा चुनकुमारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । 

श्रीमतीको हत्या गर्नका लागि प्रेम कोरियाबाट आएको खुलेको छ । ‘श्रीमतीको हत्याका लागि भारू पाँच लाख रूपैयाँ दिने सर्त राखेका रहेका छन् । त्यसपछि हत्या गर्नका लागि एक जना भारतीय नागरिक आए । श्रीमतीलाई जंगलमा लगेर योजनाबद्ध तरिकाले हत्या गरेको देखिन्छ’, घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘श्रीमतीको हत्याका लागि ३० हजार रूपैयाँ एड्भान्स पनि दिएको खुलेको छ। बाँकी पैसा पछि ‘काम भएपछि’ दिने सर्त रहेछ ।’

हत्याको कारण भने प्रहरीले खुलाएको छैन । यस घटनामा ६ जनाको संलग्नता प्रहरी अधिकारी बताउँछन् । ‘यस घटनामा केही व्यक्तिलाई पक्राउ गरिएको छ । विस्तृतमा जानकारी पत्रकार सम्मेलनमार्फत् दिन्छौं’, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीम दाहालले भने । 

सुनसरी प्रहरीले पक्राउ परेकाहरूको विरुद्धमा बिहीबार नै कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतबाट म्याद थप लिएको छ । हत्याको योजना बनाएर श्रीमान प्रेम भने कोरियामा फर्किसकेका थिए । पक्राउ पुर्जी जारी भएपछि उनलाई काठमाडौंमा झिकाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्य पनि हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ । 

चुनकुमारीको माइती महालक्ष्मी नगरपालिका-१ मा पर्छ । उनी सुनसरीको इटहरी उपमहानगरपालिका-२, हलगडामा बसोबास गर्दै आएकी थिइन् । शवको कम्मरमुनिको कपडा खोलिएको अवस्थामा थियो । उनी छोरा पढाउनका लागि इटहरीमा डेरा गरी बस्न थालेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्