०२ साउन २०८३, शनिबार

श्रीमान् सहित परिवारै मिलेर चुनुकुमारीको हत्या, ६ जना पक्राउ

बैशाख ४, २०८२
सुनसरी
श्रीमान् सहित परिवारै मिलेर चुनुकुमारीको हत्या, ६ जना पक्राउ

धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमानले गरेको खुलेको छ । श्रीमान् ३१ वर्षका प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या परिवारको अन्य सदस्यको समेत संलग्नतामा भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । वैदेशिक रोजगारीमा कोरियामा रहेका प्रेमबहादुर र उनका भाइ २९ वर्षका ढकेन्द्र बुढाथोकीसहित ७ जनाको संलग्नमा चुनुकुमारीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । 

प्रहरीले घटनामा संलग्न श्रीमान् प्रेमबहादुरसहित ६ जनालाई पक्राउ गरेर बिहिबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुरका भाइ मोरङको पथरीशनिश्चरे ३ संगमचोकमा बस्दै आएका ढकेन्द्र, उनकी श्रीमती सोही ठाउँमा बस्ने २५ वर्षकी सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ घर भई हाल उर्लाबारी ५ मा बस्दै आएका प्रेमबहादुरका कान्छा ज्वाइँ ३६ वर्षका योगेन्द्र गौतम, योगेन्द्रकी श्रीमती २८ वर्षकी डेनु गौतम र पथरीशनिश्चरे ३ का ४० वर्षका केशवराज दाहाल रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

हत्यामा संलग्न आराचेप लागेका भारतको असम जिल्लाको तेजपुरमा बस्दै आएका ३५ वर्षका राजु थापा मगर फरार रहेका छन् ।  उनी चुनुकुमारीको हत्यामा प्रत्यक्ष संलग्न रहेको एसपी तिम्सिनाले बताए। उनी फरार रहेकोले खोजी कार्य जारी राखिएको छ । हत्या गर्नको लागि राजुलाई भारतबाट बोलाएको पाइएको एसपी तिमसिनाले बताए । ‘केही रकम दिने भनेर उनी आएको अनुसन्धानबाट देखिन्छ,’ एसपी तिम्सिनाले भने, ‘यस विषयमा हामीले थप अनुसन्धान गर्दै आएका छौं । ’ 

प्रेमबहादुर वैदेशिक रोजगारमा कोरिया गएपछि श्रीमती चुनुकुमारीसँग खटपट सुरु भएको थियो। उनले परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमतीसँग सम्बन्ध विच्छेद माग्दै आएका थिए । श्रीमतीको हत्या गर्नु चार महिना अगाडि प्रेमबहादुर कोरियाबाट २७ मंसिरमा घर आएका थिए । घर आएपछि उनले श्रीमतीलाई बारम्बार डिभोर्स दिनुपर्ने अडान राखेका थिए । तर, श्रीमतीले नदिने पक्षमा थिइन्। त्यसपछि प्रेमबहादुर ५ माघमा कोरिया फर्किए । 

प्रेमबहादुर कोरिया पुगेपछि हत्याको योजना बुनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् ।  उनले श्रीमतीको हत्या गर्ने सुरुमा भाइ ढकेन्द्रलाई सुनाए। परिवारका सदस्यलाई सुनाएर हत्या गर्नको लागि भारतमा बस्दै आएका राजुलाई झिकाउने निर्णयमा प्रेमबहादुर पुगेको देखिएको प्रहरीले जनाएछ । 

‘प्रेमबहादुर र राजुको आर्थिक लेनदेन भएको देखिन्छ । चुनुकुमारीको हत्या गरेपछि राजुले लिएको आर्थिक रकम मिनाहा गरिदिने मौखिक सहमति भएको देखिन्छ । त्यही अनुसार राजु यस घटनामा संलग्न भएको अनुसन्धानबाट देखिएको  यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने । तर, कति रकम राजुलाई दिने भन्ने विषयमा अहिले खुलिसकेको प्रहरीले जनाएको छ ।  

यसरी भएको थियो हत्या

चुनुकुमारी सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् ।  ‘२४ चैतमा प्रेमबहादुरले कोरियाबाट श्रीमती चुनुकुमारीलाई फोन गरेर भाइ ढकेन्द्रलाई भेट्न केराबारी जानु भन्छन् ।  श्रीमानको कुरालाई मानेर उनी देवर ढकेन्द्रलाई भेट्न केराबारीमा जान्छिन । केराबारीमा पुगेपछि राजु र योगेन्द्र हुन्छन् ।  त्यसपछि उनीहरू योगेन्द्रले चलाएको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको पल्सर मोटरसाइकलमा बसेर केराबारी हुँदै पानमाराको जंगलतर्फ लाग्छन् ।  धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनको घना जंगलमा पुगेपछि बाइक राखेर चुनुकुमारीलाई बाइकबाट उतारेर निर्घात कुटपिट गरेको अनुसन्धनबाट देखिन्छ ’  एसपी तिम्सिनाले भने । कुटपिटबाट लडेकी चुनुकुमारीले भिरेको ब्यागको डोरीले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीले जनाएको छ । चुनुकुमारीको हत्या गरेपछि पनि श्रीमान् प्रेमले भाइसँग दैनिक अपडेट लिएको प्रहरीले जनाएको छ । 

हत्या भएको पाँच दिनपछि चैत २९ गते प्रेमको भाइ ढकेन्द्र, उनकी श्रीमती सृष्टि, डेनु र केशवराज दाहाल पक्राउ परेका थिए ।  त्यसपछि ३० चैतमा योगेन्द्र गौतम काँकडभिट्टा नाकाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसपछि परिवारसँगको समन्वयमा कोरियाबाट झिकाएर प्रेमबहादुरलाई बुधबार काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको एसपी तिम्सिनाले बताए ।

धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् ।  उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्