
सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् ।
असल शासन संरक्षण मञ्चले आज आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा उनले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूति गर्ने प्रतिबद्धता आवश्यक भएको बताए ।
'राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक छ,' उनले भने ।
राजनीतिक नेतृत्वमा इमानदारी र सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक भएकामा जोड दिँदै उनले भने, 'राजनीतिक नेतृत्वमा सुशासनप्रतिको दृढता नहुँदासम्म शासकीय र निर्वाचन प्रणाली परिवर्तन गरे पनि सुशासन सार्थक हुँदैन ।'
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासन कायम गरी राज्यप्रति जनताको विश्वास जित्न नेतृत्व वर्ग आत्म केन्द्रित नभई मुलुक केन्द्रित हुनुपर्नेमा जोड दिए। 'असन्तुष्टि चिर्न नेतृत्वतह गम्भीर बन्नुपर्छ, नीतिको ठाउँमा नाता, नभए दाता, त्यो पनि नभए ‘भ्राता’को नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन,' उनले भने ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्ता सञ्चालनमा जिम्मेवार राजनीतिक दल सुशासनका पक्षमा खरो नउत्रेसम्म यो नारामै सीमित हुने बताए । 'सरकार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि खरो उत्रनुपर्छ, सुशासनको खम्बाका रूपमा रहेका संसद्, न्यायालयलगायत संरचना जति बलिया हुन्छन् ती त्यति नै प्रभावकारी हुन्छन्,' उनले भने ।