
विश्वकै ठूला धार्मिक नेतामध्ये एक क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ।
भ्याटिकनको सान्ता मार्था निवासमा बिहान ७:३५ बजे ८८ वर्षको उमेरमा उनले अन्तिम सास लिएको बीबीसीले उल्लेख गरेको छ ।
भ्याटिकनका कार्डिनल फेरेलले पोपको निधनको घोषणा गर्दै भने, 'हाम्रो प्रिय धर्मगुरु पोप फ्रान्सिस आज प्रभुको घर फर्कनुभयो। उहाँको सम्पूर्ण जीवन प्रभु र क्याथोलिक चर्चको सेवामा समर्पित रह्यो।'
पोप फ्रान्सिसले परम्परागत गहन अन्त्येष्टि प्रक्रिया हटाउँदै आफ्नो अन्त्येष्टि सरल र जनमैत्री बनाउन मृत्यु अगाडि नै भनेका थिए ।
पहिलेका पोपहरूलाई तीन तहको विशेष कफिनमा राखेर अन्त्येष्टि गरिन्थ्यो। तर, पोप फ्रान्सिसलाई जिंकले छोपिएको साधारण काठको कफिनमा राखिनेछ।
पोपको पार्थिव शरीरलाई सन् पिटरको गिर्जाघरमा सार्वजनिकरूपमा राख्ने परम्परा समेत यसपटक पालना गरिने छैन।
कफिनको ढक्कन खोलिएको अवस्थामा श्रद्धाञ्जली दिन श्रद्धालुलाई आमन्त्रण गरिनेछ।
भ्याटिकनबाहिर अन्त्येष्टि हुने पहिलो पोप
एक शताब्दीयतापछि पोप फ्रान्सिस पहिलो त्यस्तो पोप हुनेछन्, जसको अन्त्येष्टि भ्याटिकनबाहिर हुनेछ।
उनको अन्त्येष्टि रोमस्थित 'बेसिलिका अफ सन्त मेरी मेजर'मा गरिनेछ, जुन रोमका ४ प्रमुख पोप गिर्जाघरहरूमध्ये एक हो।
पोप फ्रान्सिस (जर्ज मारियो बेरगोलियो) सन् २०१३ मा पोप चयन हुँदा ७० वर्ष पार गरेका थिए । उनी पहिलो गैरयुरोपेली पोप समेत हुन् ।
पोप फ्रान्सिसको निधनसँगै विश्वको क्याथोलिक समुदायमा गहिरो शोक छाएको छ।