२४ असार २०८३, बुधबार
बुटवल–नारायणगढ सडकको कहर

सरकारलाई अपजस दिइरहेको १४ किमी– भएका अन्य विकासलाई समेत छायाँमा पारेको दाउन्ने सडकको कहानी

बैशाख ९, २०८२
बुटवल
सरकारलाई अपजस दिइरहेको १४ किमी– भएका अन्य विकासलाई समेत छायाँमा पारेको दाउन्ने सडकको कहानी

विगत डेढ महिनादेखि निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा यात्रुले १५ घण्टासम्म जामको सास्ती खेप्नुपर्ने अवस्था छ ।

‘लाइफ लाइन हाइवे’मा निर्माण कम्पनीले यात्रुको सहजतालाई ख्याल नगरी आफूलाई सजिलो हुने गरी काम गर्दा दाउन्ने खण्डको यात्रा कष्टकर बनेको हो ।

दाउन्ने खण्डमा कटिङ, कल्भर्ट र वाल निर्माणको काम भइरहेको छ । हरेक दिन घण्टौंसम्म सवारी जामका कारण यात्रुले हैरानी खेप्नु परे पनि त्यसको समाधान र विकल्प खोजी नगरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । 

वि.सं. २०७५ देखि निर्माण चलिरहेको यो सडक खण्डका यात्रुले पानी परे पनि र घाम लागे पनि सुख पाउँदैनन् । 

बर्दघाटदेखि दुम्कीबाससम्मको १४ किलोमिटर खण्ड छिचोल्नु युद्ध जित्नुसरह बनेको छ । सामान्य अवस्थामा पनि यो खण्ड पार गर्न कम्तीमा ५ घण्टा नलागेको दिन छैन । पहाड काट्दा शुरूमा धूलोले सास्ती खेपेका यात्रु र सवारी साधन पानी पर्न थालेपछि चिप्लिने र फस्ने समस्याका कारण मारमा छन् ।

null

सडकको अवस्था स्थलगत निरीक्षण गर्न शुक्रबार त्यस क्षेत्रमा पुगेका भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल समेत ४ घण्टा दाउन्नेको जाममा फसेका थिए ।

२४ सै घण्टा अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गको मध्यक्षेत्रमा पर्ने यो जंगलमा रात गुर्जानुपर्दा यात्रुले खाजा त के पानी समेत पाउन नसक्ने अवस्था छ । 

‘त्यहाँको जाम र हिलोको समस्या शब्दमा बयान गर्न सकिँदैन,’ रूपन्देहीको ओमसतियाका विवेक यादव भन्छन्, ‘यस्तो महत्त्वपूर्ण राजमार्गमा यति समस्या भइरहेका खबर आइरहँदा राज्य किन बेखबरजस्तै छ ?’ 

उनले थपे, ‘अहिले त सडकको अवस्था यस्तो छ, वर्षायाम शुरू हुन अब धेरै समय छैन, पानी पर्न थालेपछि यो सडक के होला ?’ 

उनले त्रासदीको अर्को अनुभव पनि सुनाए– ‘गाडीमा रहेका बालबच्चा पानी चाहियो भन्दै रुन्छन्, कराउँछन्, तर अँध्यारो जंगलमा कतै निस्किन सकिँदैन । पानी र खाजा समेत पाइँदैन ।’ 

null

बर्दघाटदेखि अरूणखोलासम्म दैनिक गाडीको लाइन हुन्छ । अहिले रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर दाउन्ने खण्डमा निर्माणको काम भइरहेको छ । आयोजनाले यात्रुहरूलाई बन्दको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

यसको विकल्पमा लामो बाटो हुँदै कष्टकर यात्रा गर्न यात्रुहरू बाध्य छ ।

साना सवारीले भुताहा, संसारकोट, पटुके, डाँडाँजोर हुँदै दुम्कीबास निस्किने रुट प्रयोग गर्ने गरेका छन् । १५ किलोमिटर पर्ने यो क्षेत्र अधिकांश ‘अफ रोड’ हो । तर, मालबाहक सवारीले भने लामो दूरीका रूट प्रयोग गर्नुपर्ने हुन्छ । 

यो सडक खण्ड भएर सवारी सञ्चालन गर्न औपचारिक रूपमा सुझाव नदिइएको इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सिना बताउँछन् ।

null

सडक विभागले नारायणगढबाट पश्चिम जाने सवारीलाई पूर्वी नवलपरासीको गैंडाकोटदेखि कालीगण्डकी करिडोर हुँदै पाल्पा निस्किएर बुटवल आउन भनेको छ ।

यो खण्डमा मिनी बस र बस सञ्चालन गर्न सकिनेछ । ठूला सवारी र मालबहाक ट्रकले चितवनको मुग्लिनबाट पोखरा, पाल्पा हुँदै बुटवल निस्किनुपर्ने हुन्छ । तर, यो खण्ड धेरै लामो, घुमाउरो र महंगो पर्न जान्छ ।

‘पहाड काट्ने काम भइरहेको छ,’ इन्स्पेक्टर तिमिल्सिना भन्छन्, ‘काटेको नयाँ माटो सडकमा पर्छ । घाम लागेको बेला धूलो उडेपछि पानी हाल्दा पनि चिप्लिन्छ । पानी आएपछि पनि चिप्लेर गाडीले तान्न सक्दैन, जसले गर्दा समस्या हुन्छ ।’ 

उनले थपे, ‘वर्षायाम शुरू हुनुपूर्व नै कम्तीमा अप्ठ्यारो खण्डमा ग्राभेलसम्म गरिसक्न हामीले निरन्तर निर्माण कम्पनीलाई आग्रह गरिरहेका छौं । अहिले काम गरिरहेको छ ।’

null

सडक बन्द गरेर काम गर्न थालिए पनि तीव्र गतिमा काम अघि बढेको छैन । 

‘अहिले बढी समस्या दाउन्ने खण्डको पूर्वबाट आउँदा उकालो र पश्चिमबाट जाँदा ओरालोमा छ,’ इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले भने, ‘८ किलोमिटर खण्डमा समस्या छ । त्यो नवलपरासी पूर्वी खण्डमा पर्छ ।’

उनले थपे, ‘दाउन्नेको मन्दिर कटेपछि ओरालो पहाड र घ्यु खोलातिर धेरै समस्या देखिएको छ । लोडसहितका ठूला भारतीय ट्रकहरू निर्माणाधीन वान वे बनाइएको क्षेत्रमा बिग्रिन्छन्, कतै धूलोमा फस्छन् । पानी परेपछि गाडी नाचेर तेर्सो पर्छन् । अनेक समस्या यो क्षेत्रले झेल्दा यात्रुलाई सास्ती छ ।’

नारायणघाटबाट बुटवलसम्मको १ सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । आउँदो वर्षायामसम्म दाउन्ने खण्डबाहेक गैँडाकोटदेखि बुटवलसम्म एकतर्फी  सडक कालोपत्रे सक्ने आयोजनाले जनाएको छ ।

अहिलेसम्म सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिशत छ । 

पूर्वीखण्डको गैँडाकोट–दाउन्ने क्षेत्रमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका छन् । नारायणघाट–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनीयर शिव खनालले २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामालाई ठूला पुलको रूपमा वर्गीकरण गरिएको बताए ।

null

अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साताअगाडि विनयी खोलाको पुरानो पुल भाँचिँदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको छ । केही दिनअघिको वर्षाले विनयत्रिवेणी खोलाको डाइभर्सन समेत बगाएको थियो । 

नवलपरासी बर्दघाट सुस्ता पूर्व (बसुपू)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले ठेकेदार र आयोजनालाई पटक–पटक राखेर छिटो काम गर्न ताकेता र दबाब दिइँदै आएको बताए । ‘प्राइम रेस्पोन्सिबिलिटी आयोजना र ठेकेदार हो,’ प्रजिअ पाण्डेले लोकान्तरसँग भने, ‘हामीले समन्वय गरिरहेका छौं । वैकल्पिक बाटो गैँडाकोट हुँदै कालीगण्डकी करिडोरबाट पाल्पा भएर बुटवल निस्किने हो । अर्को भनेको मुग्लिन– पोखरा–बुटवल हो । तर, यी दुवै बाटा लामा छन् ।’

दुम्कीबासदेखि त्रिवेणी हुँदै बर्दघाटका लागि ट्रयाक खोल्न सके भरपर्दो र छोटो विकल्प बन्न सक्ने, तर अहिलेसम्म त्यसतर्फ काम अघि नबढेको उनले बताए ।

ग्लोबल टेन्डरमार्फत ठेक्का पारेर चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग १७ अर्बमा २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो ।

null

४२ महिना (२०७९ साउन) मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ । पछिल्लोपटक थपिएको मितिमा पनि निर्माण पूरा नहुने निश्चितप्रायः छ । 

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएकोभन्दा चार गुणा बढी रूख काट्नु परेको, रूख कटानको स्वीकृति ढिला आएको, विद्युतका पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाई भएको, कोभिड महामारीको संक्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक–पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । 

दुई लेनको सडकलाई चार र छ लेनमा विस्तार गर्न वि.सं. २०७५ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 

ठेक्का तोड्ने चेतावनी सरकारले दिएपछि चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डमा कामको गति बढाएको छ ।

यो खण्डमा रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लाका गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयीत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलसहित दर्जन बढी पालिका तथा बस्तीहरू जोडिएका छन् । 

चितवनको नारायणगढ र रुपन्देहीको बुटवललाई जोड्ने यो प्रतिघण्टा ८० किलोमिटरको ‘हाई स्पीड’ सडक हो ।

केही दिन अगाडि हिलोले यस्तो थियो दाउन्नेमा जाम

 

salt training

कमेन्ट गर्नुहोस्