
एक युवतीलाई प्रेमजालमा पारेर चीन लगी बेचबिखन गरेको आरोपमा एक व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका -१ घर भई जिल्ला काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपाली रहेका छन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
आशिषले ती युवतीलाई प्रेमजालमा पारी आफू चीनको लिपिङ भन्ने स्थानमा काम गर्ने गरेकोले सोही स्थानमा भेटघाट गर्न आऊ भनी सिन्धुपाल्चोकको तातोपानीसम्म जाने भ्यानको व्यवस्था गरेका थिए ।
पीडितलाई २०७० फागुन ११ गते नेपाल-चीनको सिमानासम्म बोलाई उनको साथमा नागरिकता नभएकोले आशिषले चीन प्रवेशका लागि निलो रंगको पास कार्ड समेत बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।
पीडितलाई चीनको खासास्थित छिरिङ डान्सबारमा लगी १८ हजार रूपैयाँमा बेचबिखन गरेपछि ब्यूरोमा उजुरी परेको थियो । पीडितको उजुरीपछि ब्यूरोको टोलीले मंगलबार (९ वैशाख २०८२) मा बबरमहल क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका आशिषमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।