
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्ने बेलाको एउटा रोचक प्रसंग सुनाएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले आफू र नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे राजकाज मुद्दामा प्रहरी हिरासतमा रहेको समयमा गिरिजाप्रसाद कोइराला भेट्न आउँदाको प्रसंग सुनाएका हुन् ।
‘म, गुरुराज घिमिरे लगायत तीनजना हनुमानढोकामा प्रहरी हिरासतमा थियौं । गिरिजाबाबु भेट्न आउनु भएको थियो । के खान्छौ भन्नुभयो ? हामीले जेरी-स्वारी भन्यौं । गिरिजाबावुरले जेरी-स्वारी पठाइदिनु भयो । जाने बेला अदालतमा के भन्ने पुष्पा (पुष्पा भुसाल)ले भन्छिन् । तिमीहरू केही नबोल्नु भन्नु भयो । गुरु र म बीपीको बयान पढेर तयारी अवस्थामा थियौं’, २ दशक पुरानो सन्दर्भ स्मरण गर्दै गगनले अगाडि भने, ‘पुष्पा दिदीले अदालतमा संवैधानिक राजा मान्छौं भन्नुभयो । गिरिजाबाबुले तिमीहरू केही नबोल्नु भनेकोले हामी बोल्न मिलेन । हामी छुट्यौं, दमननाथ ढुंगानाले बुटवल पुगेर बाहिर गणतन्त्रको नारा लगाउने भित्र राजतन्त्र मान्छौं भनेर फटाइ गरेछन् भन्नुभएको थियो ।’
प्रहरी हिरासतबाट छुटेपछि आफूहरूले त्रिचन्द्र क्याम्पसमा ‘राजसंस्थाको सान्दर्भिकता’ विषयमा बहस चलाएको स्मरण गर्दै राजसंस्था आवश्यक छैन भन्ने माहौल सृजना गरेको बताए ।
‘दोस्रोपटक राजद्रोहको मुद्दा लागेर म प्रहरी हिरासतमा थिएँ । कसैले भनेर पनि बयान फेर्ने पक्षमा थिइनँ । गिरिजाबाबुले कृष्ण सिटौलालाइ पठाउनुभयो । सिटौलाले सन्देश सुनाउनुभयो-गो अहेड भन्नु भएको छ’ थापाले गणतन्त्र स्थापनाको पृष्ठभूमिबारे स्मरण गरे ।
दुई उदाहरण दिएर थापाले नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताए । ‘बीपी कोइरालाले नेपालको राजालाई राजावादी बनाउने कोसिस गर्नुभयो, राजा नै राजावादी भएनन् । नेपालको राजा संवैधानिक भएनन्, राजतन्त्रवादी भयो । अस्ति भर्खर हामीले ३ वर्षको शासन हेरेको होइन ? इतिहासमा टुंग्याइसकेको विषय अहिले चर्चा गर्न आवश्यक छैन’, थापाले भने ।