
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनलाई अझ सशक्त बनाउन शिक्षकहरूलाई आह्वान गरेको छ । यद्यपि सरकारले सहमति जुटाउने प्रयास जारी राखेको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राज्यले सहजै मागहरू पूरा गर्न नचाहेको भन्दै आन्दोलनबिना अधिकार प्राप्त नहुने बताए ।
सोमबार राति शिक्षा मन्त्रालयमा भएको लामो छलफलमा कुनै सहमति नजुटेपछि अध्यक्ष सुवेदीले मंगलबार बिहान शिक्षकहरूलाई माइतीघर मण्डलामा भेला हुन उनले आग्रह गरेका छन् ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने शिक्षकहरूले उठाएको मागबारे मंगलबार वा बुधबारसम्ममा सहमति हुने बताएका छन् । सरकारले वार्ता सहमतिनजिक पुगेको बताइरहँदा महासंघले भने यसबारे प्रष्ट पारेको छैन ।
००००
नेपाल बार एसोसिएसनले शिक्षकहरूको आन्दोलनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र वार्ताबाटै समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेको छ ।
बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी शिक्षकका उचित मागको न्यायपूर्ण समाधानका लागि पहल गर्न सङ्घीय संसद्, नेपाल सरकार र नेपाल शिक्षक महासङ्घलगायत सबै सरोकार भएका पक्षसँग अपिल गरे।
००००
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल शिक्षक आन्दोलनमा सहभागी भएका छन् ।
माइतीघर–बानेश्वर सडकमा जारी शिक्षकहरूको आन्दोलनमा उनीहरू सोमबार दिउँसो सहभागी भएका हुन् । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन उनीहरू प्रदर्शनस्थलमै पुगेका हुन् ।
००००
आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि सरकारमाथि दबाब सृजना गर्न विपक्षी दलले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको प्रस्तावमा रास्वपालगायतले समर्थन गरेका हुन् ।
००००
सरकारले यही वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए । राष्ट्रपतिले संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।
००००
सोमबार रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । योसँगै यही वैशाख १८ गते ललितपुरको पुलचोकबाट रथ तान्न शुरू हुनेछ ।
वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्त्वपूर्ण चाड हो ।
००००
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन पाथीभरा देवी दर्शन केबलकार परियोजनाको विरोधमा आन्दोलनरत पक्षलाई कम्पनीले वार्ता र संवादमा आउन आह्वान गरेको छ । कम्पनीका सञ्चालक रुद्रराज पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेका हुन् ।
००००
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई लिङ्देनले भेटेका हुन् ।
लिङ्देनसँगै राप्रपा सांसद् दिपकबहादुर सिंह पनि मिश्रलाई भेट्न गएका थिए । १५ चैतको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै मिश्र पक्राउ परेका थिए । यसैबीच राजावादीहरुले सोमबार राजधानीमा विरोध सभा गरेका छन् ।
००००
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा। बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
००००
नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार वैशाख महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरूको सरुवा भएको हो ।
००००
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठित उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
सोमबार नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको चिकित्सा शिक्षा आयोगको १९औं बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको छ ।
साथै, आन्दोलनमा रहेका आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय पनि गरिएको छ ।
००००
हाजिरी जमानीमा प्रहरी हिरासतबाट छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा राजावादी आन्दोलनमा सक्रिय भएका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ गरेका उनी वैशाख ७ गते हाजिरी जमानीमा रिहा भएका थिए ।