
काठमाडौं, १५ मंसिर — साहित्यकार तथा पत्रकार कमल रिजालले आफ्नो नयाँ उपन्यास ‘दृष्टिभ्रम’ को यस वर्ष प्राप्त भएको लेखकस्व (रोयल्टी) बापतको रकम रु एक लाख पाँच हजार रुपैयाँ गैंडाकोट, नवलपरासीस्थित मौलाकालिका मन्दिरलाई प्रदान गरेका छन् ।
साथै लेखकले यसबापत आगामी वर्षहरूमा प्राप्त हुने रकम पनि क्रमशः सोही मन्दिरलाई नै प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
सृजना साहित्य प्रतिष्ठान गैंडाकोटद्वारा हालै आयोजित दृष्टिभ्रम उपन्यासको परिसंवाद कार्यक्रममा लेखक रिजालले उक्त रकमको चेक मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष सापकोटाले सो रकमलाई मौलाकालिका मन्दिर परिसरमा पुस्तकालय स्थापना गर्ने कार्यमा लगानी गरिने बाताए ।
साङ्ग्रिला बुक्स प्रालिद्वारा प्रकाशित उपन्यास दृष्टिभ्रम बोक्सीप्रथाविरोधी सामाजिक उपन्यास हो । यसलाई आफूले बोक्सीप्रथाविरोधी विश्वव्यापी अभियानको रूपमा लिएको लेखक रिजालले प्रस्ट पारे ।
परिसंवादमा भाग लिँदै भाषाविद् डा. मतिप्रसाद ढकालले उपन्यास महिला हिंसाविरुद्धको बेजोड आवाज भएको बताए ।
रिजालको सत्प्रयासबाट मौलाकालिकाको प्रचारमा समेत सहयोग पुग्ने उनको धारणा थियो ।
त्यस्तै अर्का वक्ता डा. केशव चालिसेले उपन्यासले तन्त्रशास्त्र तथा दर्शनशास्त्र एवं शरीरविज्ञान र मनोविज्ञानको आधारमा बोक्सीप्रथा उन्मूलन गर्ने प्रयास गरेको बताए ।