
रसुवाबाट आइतबार अपरान्ह बरामद भएको ७ किलो बढी सुन लुकाउन गाडी चालक किशोर भुजेलले फल्स बटम बनाएको पाइएको छ ।
चालकको क्याबिनमा फल्स बटम बनाई प्लाष्टिक भित्र सुन राखी टेपले बेरेर सुन लुकाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख एवं डीएसपी हेमबहादुर शाहीले लोकान्तरलाई जानकारी दिए ।
उनले भने, ‘स्याउ बोक्ने डिब्बा गाडी रहेछ, भुजेलले आफू बस्ने क्याबिनमा फल्स बटम बनाएर सुन लुकाएर काठमाडौं जानै लाग्दा विशेष सूचनाका आधारमा हामीले बरामद गरेका हौं ।’
डीएसपी शाहीका अनुसार बरामद सुनको मालिक भुजेल आफैं हुन् वा उनले केही रकम पाउने आसमा सुन बोकेर ल्याएका हुन् भन्ने सम्बन्धमा अनुसन्धान अगाडि बढाइने छ ।
फुजी स्याउ बोक्ने डिब्बा ट्रकमा चालक भुजेल मात्रै बसेका थिए । प्रारम्भिक बयानमा भुजेलले सुन आफ्नो नभएको बताएका छन् ।