
ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका कांग्रेस नेता मोहम्मद अफताब आलम रिहा भएका छन् ।
कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि बुधबार बेलुका रिहा भएका हुन् ।
बुधबार नै न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिने फैसला गरेको थियो । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो ।
उक्त फैसलाई आलमले उच्चमा चुनौती दिएका थिए । मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो । २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
तर, बुधबार उच्च अदालतले उनलाई सफाइ दियो । अदालतको पत्र आएसँगै आलम रिहा भएको नख्खु कारागारका जेलर भीम कोइरालाले जानकारी दिए ।
अदालतले आलमका अलवा महताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीले पनि सफाइ दिएको रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए ।
२०६४ को संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको अभियोग आलममाथि थियो ।