
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गणतन्त्र दिवसको दिन बिहीबार काठमाडौंमा सत्तारूढ नेकपा एमाले र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।
एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गर्दैछ भने राप्रपाले गणतन्त्रको विरोध र राजसंस्था पुनर्बहालीको मागसहित आन्दोलन गर्न लागेको हो ।
एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो ।
००००
ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका कांग्रेस नेता मोहम्मद अफताब आलम रिहा भएका छन् ।
कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि बुधबार बेलुका रिहा भएका हुन् ।
बुधबार नै न्यायाधीशद्वय डा खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिने फैसला गरेको थियो । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो ।
उक्त फैसलाई आलमले उच्चमा चुनौती दिएका थिए । मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो । २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
००००
कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक भएका पाँच निर्णय सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा शहकारीमन्त्री एवं विनोदकुमार शाहले बुधबार पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।
००००
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणलाई लिएर आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण दिएका छन् । नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि उठेका प्रश्नको प्रष्टीकरण दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारी प्रमुख अध्यागमन अधिकृत एवं सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको छ । सोही विषयलाई लिएर विपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा मागेर लगातार दुई दिन संसद् चल्न दिएनन् ।
००००
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।
बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहितको बैठकले राजनीतिकरण गर्न खोजिएको विषयमा राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको नियुक्तविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
नियुक्त खारेजीको माग गर्दै अधिवक्ता विशाल थापा, प्रतिभा उप्रेतीसहितले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको बिहीबार शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको बताएका हुन् ।
००००
प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ः३० बजे बस्नेगरी स्थगित भएको छ ।
सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहिबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ । यसैबीच विपक्षी दलहरूले जेठ १५ गते प्रस्तुत हुने बजेट पेश गर्न अवरोध नगर्ने निर्णय गरेका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना तीन जना सांसदको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) फिर्ता बोलाइएको भनेर असन्तुष्टि जनाएको छ ।
राप्रपाका अनुसार प्रमुख सचेतक ज्ञानबहादुर शाही, पूर्वाधार विकास समिति सभापति दीपक सिंह र पूर्वकानूनमन्त्री ध्रुवबहादुर प्रधानका पीएसओ फिर्ता बोलाइएको उनीहरूको भनाइ छ ।
००००
आगामी मनसुनजन्य विपद्का कारण करिब २० लाख जनसङ्ख्या प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठकले सो आकलन गरेको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ समेत अनुमोदन गरेको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले बढेको छ । बुधबार नेप्से परिसूचक १६.५५ अङ्कले बढेर २६९२.१८ को विन्दुमा कायम भएको हो ।