
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-५ बस्ने सल्यान कपुरकोट गाउँपालिका-५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु दूधकुण्ड नगरपालिका-५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका ४० वर्षीय शिवराम घिमिरे रहेका छन् ।
पक्राउ परेकामध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४२ लाख ३० हजार रूपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र शिवरामले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
टोपेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट, ङिमालाई काठमाडौं महानगरपालिका-४ बाट र शिवरामलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।