०१ असार २०८३, सोमबार

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

जेठ १६, २०८२
काठमाडौं
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ ।

विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो ।​

सौहार्दपूर्ण सो भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षका विषयहरूमा कुराकानी भएको थियो ।

भेटका क्रममा मन्त्री डा. राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

साथै आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानीलगायत विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री डा. राणाले बताइन् ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहिआएको दोहोर्‍याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको पनि स्पष्ट गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्