
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वतर्मान सरकारले ल्याएको बजेट अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी रहेको बताएका छन् ।
शनिबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सिमाना जोडिएका पालिकासँगको सहकार्य र संयुक्त अभ्यास सम्बन्धी अन्तर्क्रियात्मक गोष्ठीमा बोल्दै नेता खाँणले नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरपछि अहिलेका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट सबैभन्दा राम्रो रहेको दाबी गरे ।
‘बजेटले नेपालको वस्तुस्थितिलाई सहज रूपमा लिएको छ’, नेता खाँणले भने, ‘उत्कृष्ट बजेट ल्याएकोप्रति अर्थमन्त्री विष्णु पौडेलप्रति विशेष धन्यवाद दिन चाहन्छु । बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीबीच सुधारको संकेत दिएको छ । बजेट यथार्थमा आधारित रहेको छ ।’
यथार्थ धरातलमा टेकेर आएको बजेट कार्यान्वयनमा कुनै समस्या नहुने नेता खाँणको धारणा छ । नेपालमा पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै त्यसका लागि सबैलाई पर्यटनमैत्री वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।
भारतीय पर्यटकलाई नेपाल प्रहरीले अनेक सास्ती, झन्झट र चेकिङले हैरानी दिने गरेको भन्दै त्यसलाई सुधार गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरे ।
‘भारतीय पर्यटकहरू बेलहिया (सुनौली) आउँदा त्यहीँ एक ठाउँमा चेकजाँच गरे हुन्छ’ उनले भने, ‘बेलहिया, डन्डाखोला, भैरहवा र मंगलपुरसम्म गाडी चेकिङ गर्ने गरिन्छ, किन चाहियो यति धेरै ठाउँमा चेकिङ ?’ पूर्व गृहमन्त्री खाँणले भने, ‘भारतमा त्यति विशाल महाकुम्भ भयो कति सहज रूपमा सफल बनाए । एक ठाउँमा बाहेक केही चेकजाच भएन, अहिले पनि छैन । हाम्रोमा यस्ता झन्झटले पर्यटक आउन असहज मान्छन् । पर्यटकलाई तीन तहका सरकारले अतिथि देवो भव: भन्नुपर्नेपर्ने ‘हेरेस्मेन्ट’ गरिएको छ ।’
प्रदेश सरकारले भारतीय पर्यटकलाई २५ हजार मात्र ल्याउने ल्याउने पाइने निर्णय सच्याएर ५ हजार डलर दिने व्यवस्था राम्रो आएको बताए । लुम्बिनी, मुक्तिनाथदेखि सगरमाथाबाट नेपालको ठूलो समृद्धि हासिल गर्न सकिने भन्दै त्यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सीमा नाकामा प्रहरीले पर्यटकलाई सास्ती दिने गुनासो सरकारसम्म पनि आइरहेको बताउँदै त्यसमा सुधार गर्न आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका गर्नैपर्ने अनिवार्य कामका लागि पनि प्रदेश सरकारबाट बजेट नपाउँदा सरकार भएको महसुस गर्न नसकेको गुनासो गरे ।