
लुम्बिनीमा अन्तर्राष्ट्रिय भिक्षुणी संघ, गौतमी भिक्षुणी विहार परिसरमा चपाः फल्चाको शिलान्यास भएको छ । शनिबार काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उक्त फल्चाको शिलान्यास गरिन् ।
त्यस अवसरमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्षहरू आशामान संगत, राजेशकुमार श्रेष्ठ, मचाराजा महर्जनसहित भिक्षुणी विहारका पदाधिकारी सहभागी थिए ।
लुम्बिनीमा विदेशी शैली र स्वरूपका विहारहरू छन् । त्यहाँ नेपालीपनका कुनै पनि विहार नभएकोले यसको प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाले सहकार्यमा काम गरिरहेको उपप्रमुख डंगोलले बताइन् ।
फल्चा विहार परिसरमा रहेको पलेस्वाँ पुखुको पश्चिमतर्फ निर्माण हुनेछ । यसको लागत १ करोड ३२ लाख रूपैयाँ हो । यसमध्ये काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय भिक्षुणी संघलाई १ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने गरी सम्झौता गरेको छ । गएको चैत ३ गते सम्पन्न सम्झौता अनुसार यसको निर्माण अवधि २०८२ पुस ३० गतेसम्म हो ।
थाम, झ्यालसहित फल्चा परम्परागत नेपाली मौलिक शैली र स्वरूपमा निर्माण हुनेछ । यसले लुम्बिनीमा काठमाडौंको पहिचान प्रवर्द्धन गर्नेछ । फल्चाका डिजाइनर आर्किटेक्ट अमित बज्राचार्यका अनुसार २ तले फल्चाको फ्लोर एरिया ८९६ वर्गफिट हुनेछ । छानो २ पाखे हुनेछ । छानामा झिँगटी लगाइनेछ । दुवै तला खुला हुनेछन् । यसमध्ये जमिन तलामा ध्यान, साधना गर्न सकिनेछ । पहिलो तला अध्ययन र विश्रामका लागि उपयोगमा ल्याउन सकिनेछ ।

यति मात्र होइन, लुम्बिनीमा काठमाडौंको पहिचान स्थापित गर्न महानगरपालिकाले बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्वित गराउन ५ करोड ८० लाख रूपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड रूपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेशद्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको हो ।
२०७८ साल माघ २६ गते पहिलो किस्तामा ४ करोड २९ लाख १८ हजार रुपैयाँ र दोस्रो किस्ता त्यसै वर्षको चैत १७ गते थप १ करोड ५० लाख रूपैयाँ प्रदान गरेको थियो ।
यसबाट महाविहारमा नेपाली शैलीको ‘नेपाल मण्डल, प्रवेश द्वार’ निर्माण भएको छ । यस्तै, महाविहारको भूइँतलामा काठमाडौंको कला प्रदर्शन हुने कलात्मक झ्याल, ढोका, पहिलो तलाको चोकबाट पूर्वतर्फ कलात्मक झ्याल, पश्चिमतर्फ विमान झ्याल, निर्माण गरिएको छ ।
लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो ।