०१ साउन २०८३, शुक्रबार
पैसा दोहनमा बैंककै उच्च पदस्थको संलग्नता

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : रायको समूहले यसरी गरेको थियो अर्बौं निक्षेप हिनामिना

जेठ १९, २०८२
काठमाडौं
कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : रायको समूहले यसरी गरेको थियो अर्बौं निक्षेप हिनामिना

कर्णाली विकास बैंकका पूर्वअध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेपछि नेपालको बैंकिङ क्षेत्रको एउटा ठूलो घोटाला प्रकरण चासो र चर्चाको केन्द्रमा छ । बैंकको रकम अपचलनको आरोपमा नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रायलाई आइतबार पक्राउ गरेको थियो ।

२ अर्ब ५० करोडभन्दा बढी हिनामिना भएको यो घोटालाको केन्द्रमा रहेका रायले एक दशक अघिदेखि नै बैंकको उच्च तहका अन्य कर्मचारीको मिलेमतोमा डमी कम्पनी खडा गरेर बचतकर्ताको निक्षेप अपचलन गर्न शुरू गरेको खुलेको छ ।

उनी यसबीचमा बैंकको सीईओका रूपमा समेत कार्यरत थिए ।

राय र उनको समूहले डमी कम्पनी खडा गर्ने मात्र होइन, गरीब र सर्वसाधारणलाई झुक्याएर करोडौं ऋण बोकाउने तर, त्यसको दुरुपयोग आफैंले गर्ने कामसमेत गरेको सीआईबी स्रोत बताउँछ ।

रायले नेपालगञ्जमा आफ्नै नाममा रारा (राजेन्द्रवीर राय) केमिकल्सलगायत दर्जन बढी कम्पनी खोलेर त्यसमा रातारात ऋण प्रवाह गरेका थिए ।

बैंककै पूर्वसीईओ दिनेशकुमार रावत, स्थानीय व्यवसायी तिलक विक, बैंकका ऋण विभाग प्रमुख मुकेश गौतम, सञ्चालक समिति सदस्य निसार अहमद दर्जीलगायतको समूहलाई साथमा लिएर रायले बचतकर्ताको निक्षेपमा लुट मच्चाएका थिए ।

तीमध्ये, तिलकको नाममा अरू दर्जन बढी डमी कम्पनी खडा गरिएका थिए ।

साथै, बोल्न र सुन्न नसक्ने एगे कामी, तिलक विककै ड्राइभरका रूपमा काम गर्ने (निरक्षर) डम्मर कामीलगायतको नाममा ५०/५० लाख ऋण प्रवाह गरिएको थियो । उक्त ऋण रायकै नेतृत्वमा अपचलन हुने गर्दथ्यो ।

सीआईबीका अनुसार यस प्रकरणमा संलग्न रावत, पूर्ववित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाह तथा अन्य पनि अनुसन्धानको दायरामा तानिएका छन् ।

रायको प्रत्यक्ष संलग्नता

राय २०६० मा स्थापित कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष हुन् । उनले २०७६ देखि २०७९ सम्म बैंककै सीईओको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी नै यो घोटालाको मुख्य योजनाकारको रूपमा देखिएको सीआईबीले जनाएको छ ।

रायले बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को ठाडो उल्लंघन गर्दै आफ्नै स्वामित्वमा रहेका रारा केमिकल्सलगायत एक दर्जन डमी कम्पनीमा बैंकको निक्षेपलाई ऋणको रूपमा लगानीगरी २ अर्ब ५० करोडभन्दा बढी रकम अपचलन गरेका हुन् ।

सीआईबीले उनी र उनको समूहमाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।

राय २०७४ सालको संविधानसभा निर्वाचनमा राय कमल थापा नेतृत्वको राप्रपाबाट सल्यानबाट उम्मेदवार बनेर पराजित भएका थिए । त्यसपछि २०७९ भदौमा नए एमाले प्रवेश गरे । २०७९ को चुनावमा एमालेबाटै सल्यानबाट नै उम्मेदवार बनेर पुनः पराजित भए । त्यसपछि उनी नागरिक उन्मुक्ति पार्टीको कोटाबाट राष्ट्रिय सभा सदस्य सदस्यको उम्मेदवार पनि बन्न भ्याए तर, त्यहाँ पनि पराजित भए ।

'रायले आफ्नो सीईओ र अध्यक्ष पदको दुरुपयोग गरी आफ्नो स्वामित्वका कम्पनीहरू र डमी ऋणीहरूमार्फत अर्बौं रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ,' सीआईबी प्रमुख चन्द्रकुबेर खापुङले भने ।

हिनामिनाका सहयोगीहरू

रायले यो वित्तीय अपराध सञ्चालन गर्न बैंकको उच्च व्यवस्थापन, सञ्चालक समिति, मालपोत कार्यालय र स्थानीय प्रशासनका व्यक्तिहरूलाई सहयोगी बनाएका थिए ।

तीमध्ये तिलक बिक मिटरब्याजी धन्दा चलाउने स्थानीय व्यवसायी हुन् । उनी अहिले काठमाडौंमै रहेको बताइन्छ ।

उनले डीएनटी इन्भेस्टमेन्ट, अष्टलक्ष्मी बिल्डिङ प्रोडक्ट्स र प्रतीक निर्माण सेवा जस्ता २५ भन्दा बढी डमी कम्पनीहरूमार्फत डेढ अर्बभन्दा बढी रकम अपचलन गरेका थिए ।

यस घोटालाका अर्का अभियुक्त दिनेशकुमार रावत हुन् । उनी बैंकका पूर्वसीईओ हुन्, जसले रायको योजनामा सहयोग गर्दै अनियमित ऋण स्वीकृतिमा भूमिका खेले ।

त्यस्तै, निसार अहमद दर्जी बैंककै पूर्वभ्यालुएटर र सञ्चालक समिति सदस्य हुन् । दर्जीले कम मूल्यको जग्गालाई उच्च मूल्यांकन गरेर अनियमित ऋण स्वीकृतिमा सहयोग गरेका थिए ।

सीआईबी स्रोतले मुकेश गौतम पनि अनुसन्धानको दायरामा तानिएको बताएको छ । गौतम यसअघि ऋण विभाग प्रमुख थिए, जसले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको कम मूल्यको जग्गा डमी ऋणीको नाममा पास गराएर त्यसबाट लाखौं ऋण लिई हिनामिनामा सहयोग गरेका थिए ।

मालपोत कार्यालयका केही कर्मचारी पनि रायले चलाएको यो घोटाला काण्डमा मुछिएका छन् । तीमध्ये एक केशव सुवेदी पनि हुन् । उनले रातारात कमसल जग्गा डमी ऋणीको नाममा नामसारी गर्न सहयोग गर्ने काम गरेका थिए । 

हिनामिनाको तरिका: डमी ऋणी र कम्पनीको दुरुपयोग

रायको ठगी सञ्जालले पढ्न-लेख्न नजान्ने, शारीरिक रूपमा अशक्त र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई डमी ऋणी बनाएर ठूलो रकम हिनामिना गरेको पाइएको छ । उदाहरणका लागि, तिलक विकका ड्राइभर डम्मर कामीको नाममा १० लाख मूल्यको जग्गा नामसारी गराएर बैंकबाट ४८ लाखको ऋण लिइएको थियो ।

रातारात डम्मरको नाममा आएको जग्गा राखेर ऋण लिइएको थियो । डम्मरलाई आफ्नो नाममा जग्गा वा ऋण भएकोबारे कुनै जानकारी थिएन ।

डम्मरको नाममा भएको खातामा आएको रकम तुरुन्तै मुकेश गौतम, गिरिजाकुमारी जोशी र किरण भण्डारी (अष्टलक्ष्मीका डमी संचालक)को खातामा ट्रान्सफर भएको थियो । तिलकले डम्मरलाई प्रलोभन र धम्की दिएर खाली चेकहरूमा हस्ताक्षर गराएका थिए ।

रायले आफ्नो स्वामित्वमा रहेका रारा केमिकल्सलगायत अन्य कम्पनीहरूमा बैंकको निक्षेपलाई बैंक तथा वित्तीय संस्था ऐन(बाफिया)विपरीत ऋणको रूपमा लगानी गरेका थिए ।

यस्तै, तिलक विकले सञ्चालन गरेका डमी कम्पनीहरूमध्ये बैंकबाट डीएनटी इन्भेस्टमेन्टमा १४ करोड ४० लाख, अष्टलक्ष्मी बिल्डिङ प्रोडक्ट्समा ५ करोड ८० लाख, प्रतिक निर्माण सेवामा ६ करोड र वैदिक कन्स्ट्रक्सनमा ४ करोड ६० लाख ऋण लगानी गरिएको थियो ।

यी कम्पनीहरू ऋण लिने प्रयोजनका निम्ति खुलेको र दर्ता भएको एकाध दिनमै ऋण प्रवाह गरिएको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसरी ऋण लिएको वर्षौंपछि पनि साँवा तथा ब्याज भुक्तानी गरिएको थिएन ।

रायको सञ्जालले लिएको ऋण सयकडा ४ को ब्याजमा मिटरब्याजी धन्दामा पनि प्रयोग भएको अनुसन्धानले देखाएको छ ।

निमुखा व्यक्तिहरूलाई प्रलोभन र धम्की दिएर डमी ऋणी बनाइएको छ । यी व्यक्तिहरूलाई आफ्नो नाममा जग्गा वा ऋणबारे जानकारी छैन र उनीहरूको खाता रायको समूहका सदस्यहरूले सञ्चालन गर्ने गरेका थिए ।

राष्ट्र बैंकको कमजोरी र समस्याग्रस्त घोषणा

२०७९ को पुसमा पहिलोपल्ट बैंकमा भएको घोटाला सार्वजनिक भएको थियो । तर, नेपाल राष्ट्र बैंकको 'कमजोर' निरीक्षणकै कारण त्यतिबेला यो घोटालाबारे केही छानबिन हुन सकेन ।

घोटाला सार्वजनिक भएको २ वर्षपछि मात्र (२०८१ पुस १०) राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्‍यो । राष्ट्र बैंकले तोकिएको पूँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत पुगेको र निक्षेपकर्ताको भुक्तानी दायित्व पूरा गर्न नसकेको कारण देखाएर समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्र बैंकले टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । उक्त समितिलाई निक्षेपकर्ताको हित संरक्षण, ऋण असुली र वित्तीय अपचलनको छानबिनको जिम्मेवारी दिइएको छ ।

बैंक टेकओभर गरेपछि राष्ट्र बैंकले भनेको थियो, 'बैंकलाई यथास्थितिमा सञ्चालन गर्न दिँदा निक्षेपकर्ताको हित र बैंकिङ प्रणालीप्रति विश्वास गुम्ने जोखिम देखियो ।'

दल फेर्दै चुनाव लड्दै

आइतवार पक्राउ परेका राय अहिलेसम्म राजनीतिक संरक्षणको छायाँमा सुरक्षित बसिरहेका थिए । २०७४ सालको संविधानसभा निर्वाचनमा राय कमल थापा नेतृत्वको राप्रपाको टिकट लिएर सल्यानबाट उम्मेदवार बनेका थिए, तर पराजित भए ।

त्यसपछि २०७९ भदौमा राय राप्रपा नेपाल छोडेर नेकपा एमालेमा प्रवेश गरे । त्यतिबेला उनलाई उनलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए । अनि एमालेको टिकट लिएर २०७९ को मङ्सिरको चुनावमा सल्यानबाट नै उम्मेदवार बने तर पुनः पराजित भए ।

त्यसपछि उनी नागरिक उन्मुक्ति पार्टीको कोटाबाट राष्ट्रिय सभा सदस्य सदस्यको उम्मेदवार पनि बन्न भ्याए तर, त्यहाँ पनि पराजित भए ।

salt training

कमेन्ट गर्नुहोस्