
अमेरिकाले सुरक्षा खतराको कारण देखाउँदै बगदादस्थित अमेरिकी दूतावासका गैर-आवश्यक कर्मचारीहरूले इराक छोड्दै छन् । अमेरिकी सरकारी स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उनीहरूले इराक छोड्नुको कारण खुलाइएको छैन । तर, इरानको आणविक कार्यक्रममा हालै भएको वार्ता रोकिनु यसको एउटा कारण हुन सक्ने बीबीसीले जनाएको छ । इरानसँग धेरै हप्ताको वार्तापछि अमेरिकाले यो कदम चालेको हो।
अमेरिकी विदेश विभागका एक अधिकारीले भने, 'हामी हाम्रा सबै दूतावासहरूमा कर्मचारीहरूको उपयुक्त अवस्थाको मूल्याङ्कन गरिरहेका छौं। पछिल्लो विश्लेषणको आधारमा हामीले इराकमा हाम्रो उपस्थिति घटाउने निर्णय गरेका छौं।'
राष्ट्रपति डोनाल्ट ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न सम्झौतामा पुग्ने आशा व्यक्त गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक पोडकास्टमा भने कि इरानको आणविक कार्यक्रममा कुनै पनि सम्झौता हुने कुरामा उनलाई कम विश्वास छ ।
अमेरिका चाहन्छ कि इरानले आणविक बम बनाउन प्रयोग गर्न सकिने युरेनियम संवर्धन बन्द गरोस् । बदलामा अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्धहरू कम गर्नेछ।
साथै, इरानका रक्षामन्त्री अजिज नासिरजादेहले भने कि यदि वार्ता सफल भएन र ट्रम्पले इरानविरुद्ध सैन्य आक्रमणको आदेश दिए भने इरानले यस क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूविरुद्ध बदला लिनेछ।
समाचार एजेन्सी रोयटर्सले रिपोर्ट गरेको छ कि अमेरिकी रक्षा सचिव पिट हेग्सेथले कुवेत र बहराइनलगायत मध्यपूर्व देशहरूबाट अमेरिकी सैन्य कर्मचारीहरूका परिवारहरूलाई फर्कन अनुमति दिएका छन् ।
यद्यपि, इरानले भन्छ कि यसको युरेनियम संवर्धन कार्यक्रम ऊर्जा उत्पादनको लागि हो र यो आणविक बम बनाउन खोजिरहेको छैन ।
यसैबीच, अमेरिकी दूतावासले यो कदम चालेको खबर प्रकाशमा आएपछि, तेलको मूल्य चार प्रतिशतभन्दा बढीले बढेको छ। यस क्षेत्रमा असुरक्षाका कारण आपूर्ति समस्या हुने सम्भावना छ। मध्यपूर्व विश्वको एक महत्त्वपूर्ण तेल आपूर्तिकर्ता क्षेत्र हो । इराकमा लगभग २,५०० अमेरिकी सैनिक तैनाथ छन् ।
वाशिंगटन पोस्टले बुधबार रिपोर्ट गरेको छ कि इरानमा सम्भावित इजरायली आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै अमेरिकाले इराकबाट केही कर्मचारीहरूलाई हटाउन अनुमति दिएको छ। यसका साथै, पेन्टागनले मध्यपूर्वमा रहेका सैन्य परिवारका सदस्यहरूको फिर्ताको लागि संकेत दिएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा एक पोस्टमा फेरि एक पटक आणविक सम्झौता नभएमा इरानमाथि बम विष्फोट गर्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्, 'आगामी दिनहरूमा अमेरिकी सेनाले आफ्नो गौरव देखाउनेछ। तपाईं (सेना)ले अमेरिकी माटोको प्रत्येक इन्चको रक्षा गर्नुहुनेछ। तपाईंले पृथ्वीको प्रत्येक कुनामा अमेरिकाको रक्षा गर्नुहुनेछ।'