
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा ५ औं मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले आइतबार जिल्ला अदालतमा लामिछानेलगायत २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
लामिछानेले सहकारी संस्थाबाट १ करोड ५० लाख रुपैयाँ व्यक्तिगत ऋण लिएको अभियोजन पत्रमा उल्लेख छ । त्यसका लागि रवि १ लाख रुपैयाँ हालेर उक्त सहकारीको सदस्य समेत बनेको खुलेको छ ।
‘सानो पाइला ऋण तथा सहकारी संस्थाबाट भएको अपचलन भएको कुल ऋण मध्ये निज प्रतिवादी रवि लामिछानेको हकमा व्यक्तिगतरूपमा १ करोड ५० लाख र गोर्खा मिडिया नेटवर्कको सञ्चालक प्रबन्ध निर्देशक र शेयर सदस्य रहेको समयमा १० करोड ६ लाख ऋण लिएको देखियो,’ अभियोजन पत्रमा उल्लेख छ ।

व्यक्तिगत रूपमा लिएको र मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको ऋण समेत गरी ११ करोड ५६ लाख ९४ हजार बिगो दाबी गरिएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगीका कास्की, रूपन्देही, काठमाडौं र चितवनमा मुद्दा चलिसकेको छ ।
सबै ठाउँबाट धरौटीमा रिहा भएका लामिछाने उच्च अदालतले रुपन्देही जिल्ला अदालतको धरौटी आदेश उल्ट्याएपछि पुर्पक्षका लागि थुनामा छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा लामिछाने २०८१ चैत्र २५ गते पुर्पक्षका लागि जेल परेका हुन् ।
जेठ ९ गते सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरिदिएको थियो ।
लामिछानेले व्यक्तिगतरूपमा ऋण नलिएको दाबी गरेपछि जिल्ला सरकारी वकिल कार्यालयको अभियोजनमा उनले १ करोड ५० लाख लिएको पाइएको छ ।