
प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मुद्दा प्रभावित गर्न कानूनमन्त्री अजयकुमार चौरसियाले न्यायाधीशसँग बिहान बिहान कुरा गर्ने गरेको गम्भीर आरोप लगाएका छन् । उनले मन्त्रीले न्यायाधीशसँग गरेको कड डिटेल सार्वजनिक गर्न माग गरे ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कानून मन्त्रालय अन्तर्गत विनियोजन शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्ने क्रममा सांसद सिहंले मुद्दा प्रभावित गर्न कानूनमन्त्रीले बिहान बिहान न्यायाधीशलाई फोन गर्ने गरेको आरोप लगाएका हुन् ।
‘कानूनमन्त्रीले बिहान बिहानै जिल्लाको मुद्दा प्रभावित गर्न परे एक नम्बर र उच्चको मुद्दा प्रभावित गर्न परे मुख्य न्यायधीशलाई फोन गर्ने गरेको थाहा छ’ सांसद सिहंले भने, ‘कानूनमन्त्रीको कल डिटेल आयो भने थाहा हुन्छ । मन्त्रीले न्यापरिषद्मा कुरा राख्ने हो, न्यायाधीशलाई फोन गरेर न्यायलय प्रभावित गर्न पाइँदैन ।’
कानूनमन्त्रीले न्यायाधीशलाई पटक-पटक फोन गरेको आफूसँग सूचना रहेको जिकिर गर्दै उनले कल डिटेल गल्ती भयो भने आफू सांसद पद त्याग्न समेत तयार रहेको बताए ।
अमरेशले कानूनमनन्त्रीलाई आरोपित गरेपछि लगत्तै कांग्रेस सचेतक सुशीला थिङले नियमापत्ति गरेकी थिइन् । उनले असान्दर्भिक विषय संसद्को रेकर्डबाट हटाउन माग गरेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए । अमरेशले आरोप लगाउँदा मन्त्री संसद्मै थिए ।
अमरेशले न्यायपरिषद्को औचित्य सकिएको भन्दै राजनीतिक भर्ती केन्द्र बनेको न्यायपरिषद् पनि विघटन गर्नुपर्ने बताए । ‘एउटा सिपाही बन्नलाई दौडनु पर्छ, ८ कक्षा पढेकाले लिखित परीक्षामा भाग लिनुपर्छ । तर, न्यायाधीश बन्न कहीँ जाँच लिनु पर्दैन, दलको सिफारिस भएपछि पुग्छ’ सांसद सिहंले भने, ‘त्यसैले न्यायपरिषद् विघटन हुनुपर्छ, सिण्डिकेट प्रणाली अन्त्य गर्नुपर्छ ।’
उनले राजनीतिक दलको नेता र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न पनि माग गरेका छन् । यो विषय संसद्मा उठाउन उपयुक्त लागेकोले उठाएको उनले बताए ।