
तनहुँको देवघाटमा भएको कुटपिटपछि हत्या प्रकरणमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले चितवनको वृद्धाश्रमबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यही असार ५ गते बिहान करिब ५ बजे देवघाट गाउँपालिका–५ बद्रिमुक्ती टोल निवासी ३२ वर्षीय प्रकाश पौडेलको मादक पदार्थ सेवनपछि कुटपिट गरी हत्या गरिएको थियो । घटनापछि संलग्न रहेको आरोपमा प्रहरीले दुई जना अभियुक्तलाई घटनाको दिनै नियन्त्रणमा लिएको थियो ।
हत्या प्रकरणमा जिल्ला पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटीका २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ हटियाका ४२ वर्षीय राम लामा पक्राउ परिसकेका थिए । उनीहरूलाई तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका मुख्य अभियुक्त महोत्तरी बर्दिवास नगरपालिका–१ का जोगी भनिने ४६ वर्षीय लोकबहादुर महतलाई प्रहरीले शनिबार बिहान १०:१० बजे चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी नायब निरीक्षक उदयराज पौडेलको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले खोजतलासका क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेपछि उनलाई थप अनुसन्धानका लागि तनहुँको आबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमार्फत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विकले जनाएका छन् ।