
यही असार ५ गते राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले समयमा नै उद्धार गरेका कारण बसमा सवार ३८ जना यात्रुको ज्यान जोगियो ।
खोलामा राखिएको डाइभर्सन बगाएर यात्रुले ज्यानै जोखिममा राख्नुपरेको यो पहिलोपटक भने होइन । उक्त स्थानको डाइभर्सन पटकपटक बगाउने गरेको छ ।
विनयी खोलामा मानवीय क्षति नभएपनि नेपालका सडकमा यात्रुले ज्यान हत्केलामा लिएर हिँडिरहेका छन् । त्यसपछि चितवन लगायतका जिल्लामा भएका दुर्घटनाले पनि देखाउँछ नेपालको सडक सवारी कति असुरक्षित र लापरबाहीपूर्ण छ भन्ने । विश्व स्वास्थ्य संगठनले २०२१ मा नेपालमा हरेक एक लाख जनसंख्यामा झन्डै २९ जनाले दुर्घटनामा ज्यान गुमाउने तथ्य सार्वजनिक गरेको थियो ।
नेपालको सडक सुरक्षा प्रोफाइल २०२५ को सूचांकले पनि देशमा प्रत्येक २४ मिनेटमा सडक दुर्घटनामा कसैले ज्यान गुमाउने देखाएको छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७५/२०७६ देखि २०८२ वैशाखसम्म सडक दुर्घटनामा परि देशभर १६ हजार ९७२ जनाले ज्यान गुमाएका छन् ।
यी दुर्घटनाले मानवीय मात्र नभई आर्थिक क्षति गरिरहेको छ । दुर्घटनामा परेका कोही घाइते उपचार गराउन नसक्ने अवस्थाका हुन्छन् ।
गत जेठ ३० गते बागलुङमा पिकअप दुर्घटना भयो । १६ जना यात्रु सवारमध्ये चार जनाले ज्यान गुमाए । बाँकी १२ जनाको विभिन्न अस्पतालमा उपचार हुँदैछ । ४ असारमा बसेको संसद् बैठकमा गण्डकी प्रदेश सांसद दिलमाया पौडेल विकले घाइतेको आर्थिक अवस्था नाजुक रहेकाले उपचारका लागि प्रदेशसभामा ध्यानाकर्षण गराएका थिइन् ।
खराब सडक दुर्घटनाको कारक
पछिल्लो समय भएको भयावह दुर्घटना हो मुग्लिन सडकखण्डको सिमलताल दुर्घटना । सो दुर्घटनाबारे अध्ययन गर्न कार्यदल समेत गठन गरिएको थियो । सो कार्यदलले खराब पूर्वाधारका कारण दुर्घटना निम्तिएको प्रतिवेदन सार्वजनिक गर्यो ।
सो स्थानमा उचित इन्जिनियरिङ डिजाइनविनाको सडक खनिएको, सडक निर्माण गर्दा कट एण्ड फिल्ड एप्रोचमा कार्य नगरी कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यत्तिकै फ्याँकिएको तथा सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा अत्यधिक वर्षाको समयमा सो स्थानमा पहिरो गएको प्रतिवेदनले पहिल्याएको छ ।
सो प्रतिवेदनले भरतपुर-२९ मा रहेको सिमलताल सडकखण्डको सडक निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको पनि उजागर गरेको छ ।
विभिन्न अध्ययन प्रतिवेदनमा नेपालमा सडक दुर्घटनाको प्रमुख कारण खराब सडक पूर्वाधार रहेको देखाएको छ । सन् २०२२ मा प्रकाशित भएको ‘नेपालमा सडक दुर्घटनाका निर्धारक’अध्ययनले प्रमुख कारणमध्ये एक खराब सडक रहेको देखाउँछ ।
‘खाल्डाखुल्डी, त्रुटिपूर्ण डिजाइन, कटान र साँघुरो सडक, गहिरो भिरालो र अन्धा घुमाउरो सडकलाई खराब सडक अवस्थाको रूपमा परिभाषित गरिएको छ । खराब सडक अवस्थालाई सडक दुर्घटनाको प्रमुख कारण मानिन्छ । यो कमजोर मर्मत सम्भारले गम्भीर दुर्घटना निम्त्याउन सक्छ जसले गर्दा गम्भीर चोटपटक लाग्न सक्छ,’ सो अध्ययनमा उल्लेख छ ।
यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक काशीराज दाहाल गुणस्तर सडकलाई सुरक्षित सडकसँग जोडेर हेर्छन् । गुणस्तरीय सडक नहुँदा दुर्घटनाको सम्भावना बढ्ने उनको भनाइ छ ।
‘सडक निर्माण गुणस्तर हुनुपर्ने हो । बजेट अभावले गर्दा क्वालिटी मेन्टेन गर्न कठिन देखिन्छ । जुन किसिमको गुणस्तर हुनुपर्ने त्यो नभएको कारणले चाँडै सडक भत्किने अवस्था देखिन्छ’, दाहाल भन्छन्, ‘सडकपेटीका नाला व्यवस्थित नहुँदा पानी सडकबाट नै बगिरहेको हुन्छ । बनेको सडक पनि तत्काल भत्किने, खाल्डो पर्ने त्यसले पनि दुर्घटना निम्त्याउने हुन्छ ।’
कमजोर पूर्वाधारको बाबजुद नेपालले २०३० सम्म सडक दुर्घटनाबाट मृत्यु र घाइते हुनेको संख्या ५० प्रतिशतभन्दा कम गराउने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्य अन्तर्गत सन् २०५० सम्म यो संख्यालाई शून्यमा झार्न नेपालले प्रतिबद्धता जनाएको छ । तर, सडक सुरक्षाका लागि प्रभावकारी रूपमा राष्ट्रिय नीति बनाउन नसकिएको पूर्वमहानिर्देशक दाहालको जिकिर छ ।
संख्याको हिसाबमा हेर्ने हो भने सबैभन्दा बढी सडक दुर्घटना काठमाडौं उपत्यका हुन्छ । तर,दैनिक गुड्ने सवारीसाधनले तथ्यांकमा प्रभाव पारेको हुन्छ । तथ्यांकमा हेर्दा दुर्घटनाको संख्या सबैभन्दा बढी काठमाडौं उपत्यका देखाउँछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश संख्याको हिसाबमा कम दुर्घटनामा हुने स्थानमा देखाउँछ ।
तथ्यांक
तर, यी तथ्यांकलाई विश्लेषण गर्दा फरक दृश्य छ । जस्तो, २०८१ असारदेखि २०८२ वैशाखसम्मको तथ्यांक केलाउँदा सबभन्दा कम दुर्घटना संख्या गण्डकीमा छ । तर, दुर्घटना संख्याको अनुपातमा मृत्युको तथ्यांक हेर्दा डरलाग्दो छ ।
यो वर्ष वैशाखसम्ममा गण्डकीमा ३ सय १५ दुर्घटना संख्या हुँदा १ सय ९६ जनाले ज्यान गुमाए । अर्थात्, गण्डकी प्रदेशमा सवारी दुर्घटनाको घातकता दर सबैभन्दा उच्च रहेको छ । जहाँ प्रत्येक १०० दुर्घटनामा ६२ जनाको मृत्यु हुने देखिएको छ । त्यसपछि सुदूरपश्चिम १७.५६ प्रतिशत, लुम्बिनी १६.७२ प्रतिशत र कर्णाली १४.१४ प्रतिशतमा पनि मृत्युदर उच्च छ । काठमाडौं उपत्यकामा दुर्घटनाको संख्या बढी भएपनि मृत्युको दर सबैभन्दा कम २.७ प्रतिशत मात्र देखिएको छ ।
तथ्यांक
सन् २०२४ मा प्रकाशित एक अध्ययनले ग्राभेल सडकको तुलनामा माटोका सडकमा दुर्घटनाको घातकता उच्च हुन्छ । अध्ययनले सडक पूर्वाधार बाहेक, तीव्र गति, मादकपदार्थ सेवन दुर्घटनाको कारण रहेको देखाउँछ ।
सबैभन्दा बढी दुर्घटनामा पर्ने दुईपांग्रे सवारीसाधन छन् । त्यसमा पनि सवारी चालकको उमेर समूह अनुसार २५ देखि ४० का बढी दुर्घटना संलग्न देखिन्छ ।
सार्वजनिक यातायातको स्थिति सडक सुरक्षासँग जोडिने विचार राख्छन् पूर्वमहानिर्देशक दाहाल । सवारीसाधनको चेकजाँचले पनि दुर्घटनामा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित संयन्त्र बलियो हुनुपर्ने उनको जिकिर छ ।
‘सडकको सुरक्षा गर्दा सडकको ग्रेडिङको कुरा आउँछ । जस्तो पहाडी क्षेत्रमा चल्ने वैज्ञानिक हिसाब र अध्ययन नगरिन आउँछ । रोड एक किसिमको बनेर आउँछ । यातायातको सुरक्षा अर्को कुरा हुन्छ । समन्वयको कमी देखिन्छ । सडक विभाग, यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी समन्वय गर्ने निकायहरूको निश्चित मापदण्ड संयन्त्र प्रभावकारी देखिँदैन,’ उनले भने ।
सिमलताल दुर्घटनाको अध्ययन प्रतिवेदनमा पनि आगामी दिनमा सडक सुरक्षाका लागि सडक सुरक्षासँग सम्बन्धित निकायकाबीच आवश्यक समन्वय तथा नियमन गर्न सडक सुरक्षा परिषद् स्थापना गर्ने सुझाव दिएको थियो ।
प्रतिवेदनमा नेपालमा सडक दुर्घटना न्यूनीकरणका लागि राजमार्गको डिजाइन, निर्माण तथा सञ्चालनको विभिन्न चरण ‘रोड सेफ्टी अडिट’ गरी प्राप्त सुझाव कार्यान्वयन गर्न सुझाइएको थियो । जोखिमयुक्त स्थानमा ‘सेफ्टी मेजर’सँग सम्बन्धित सूचनामार्फत प्रसारण गर्ने व्यवस्था गर्नुपर्ने राय प्रतिवेदनको थियो । साथै,सडक सुरक्षासँग सम्बन्धित अधिकांश कानून पुराना भएको हुँदा परिमार्जन गर्न समेत आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
बर्खा लागेसँगै सडक अवरुद्ध र सडक दुर्घटना घटना बढ्छन् । जसका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतनाका लागि हेल्प डेस्क सञ्चालन गरेको प्रवक्ता, एसपी दीपक गिरीले बताए ।
‘विपद्बाट हुनसक्ने घटना/दुर्घटनाको लागि भनेर १२ वटा स्थानमा हेल्प डेस्क शुरू गरेका छौं । हेल्प डेस्कमा मनसुनमा बाढीपहिरोबाट हुने सडक अवरुद्धको बारेमा जानकारी गराउँछौं । अपनाउनुपर्ने सावधानीको बारेमा पनि भन्छौं,’ एसपी गिरीले भने ।
बर्खा लागेसँगै सडकखण्डको मर्मत सम्भारमा पनि ध्यान दिनुपर्ने बताउँछन् यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक दाहाल ।
‘विशेषगरी बर्खाको रुटको कन्डिसन अगाडि नै मर्मत सम्भार गर्नुपर्ने हो । हाम्रो सडकको अवस्था अत्यन्त नाजुक छ । बढी जोखिम हुने कुराले पुनर्निर्माण र मेन्टेन गर्ने कुरामा ध्यान दिनुपर्छ,’ दाहालले भने ।