३० जेठ २०८३, शनिबार

लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

असार ८, २०८२
बुटवल
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।​रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट गत जेठ १६ गते पक्राउ पुर्जी जारी भएको हो । त्यसयता सांसद रायमाझी फरार छिन् ।

पर्साको पोखरिया बस्ने आशाकुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएकी थिइन् ।​​

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेख्दै सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ ।

सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो । आशाकुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ ।

जनमत पार्टीका प्रदेशसभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग ५ लाख ५० हजार रुपैयाँ सापटी लिएकी थिइन् ।

रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य रायमाझीले २०८१ भदौ ७ गते दुई लाख ७५ हजार रुपैयाँको चेक अनितालाई दिएकी थिइन् । तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो ।

यसबारे सुमनलाई पटक-पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी छिन् । 

यता जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सीके)ले पक्राउ पुर्जीबारे आफूले पनि मिडियाबाट थाहा पाएको बताए । ‘पछिल्लो समय उहाँ खासै पार्टीको सम्पर्कमा हुनुहुन्न थियो । पक्राउ पुर्जीबारे केही जानकारी थिएन ।’

यता बर्दियाका प्रहरी प्रवक्ता चक्रबहादुर पालले पक्राउ पुर्जीबारे इमेल अझै आइनपुगेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्