
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिका र इजरायलसँग तुरुन्त आणविक वार्ता शुरू गर्न आग्रह गरेका छन् ।
अमेरिकी सेनाले आइतबार बिहानै इरानका आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेपछि चान्सलर मर्जले यो कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
चान्सलरका प्रवक्ता स्टेफान कोर्नेलियसले जर्मन संघीय सरकारको सुरक्षा मन्त्रिपरिषद्को बिहानको बैठकमा चान्सलर मर्जको भनाइ उद्धृत गर्दै विवादको समाधान कूटनीतिक माध्यमबाट खोज्न इरानले अमेरिकासँग मात्र होइन, इजरायलसँग पनि वार्ता शुरू गर्नुपर्ने बताएका छन् ।
कोर्नेलियसले जारी गरेको वक्तव्यमा भनिएको छ, 'हवाई आक्रमणका कारण इरानको आणविक कार्यक्रमका महत्त्वपूर्ण अंशहरू प्रभावित भएका छन् । तर वास्तविक क्षतिको विस्तृत मूल्याङ्कन पछि मात्र सम्भव हुनेछ ।'
वक्तव्यअनुसार चान्सलर मर्ज र जर्मनीका सुरक्षासम्बन्धी मन्त्री युरोपेली संघका सदस्य राष्ट्र र अमेरिकासँग निरन्तर समन्वयमा रहेका छन् ।
मध्यपूर्वमा भइरहेको द्वन्द्वले युरोपमै असर पार्न सक्ने आकलन भइरहेका बेला जर्मन चान्सलरको यस्तो भनाइ आएको हो । जर्मनीले यसअघि पनि इरानसँगको आणविक सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
अहिलेको जटिल परिस्थितिमा जर्मनीको यो आह्वानलाई अमेरिका-इजरायलको सैन्य दबाब र इरानमाथिको अन्तर्राष्ट्रिय कूटनीतिक दबाबलाई सन्तुलित बनाउने प्रयासको रूपमा हेरिएको छ ।