
इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँगको शत्रुता समाप्त हुन सक्ने संकेत गरेका छन् । इजरायल विरुद्धको सैन्य कारबाही अन्तिम क्षणसम्म जारी राखेको भन्दै उनले इरानी सेनालाई धन्यवाद दिएका हुन् । 'इजरायललाई दण्ड दिन हाम्रा शक्तिशाली सशस्त्र सेनाहरूको सैन्य कारबाही अन्तिम क्षणसम्म जारी रह्यो,' अराघचीले सामाजिक सञ्जालमा भनेका छन्, 'म हाम्रा बहादुर सशस्त्र सेनाहरूलाई धन्यवाद दिन्छु जो आफ्नो रगतको अन्तिम थोपासम्म हाम्रो प्रिय देशको रक्षा गर्न तयार रहन्छन् र जसले अन्तिम क्षणसम्म शत्रुको कुनै पनि आक्रमणको जवाफ दिन्छन्।'
यसअघि उनले यदि इजरायलले तेहरानमा आक्रमण रोक्यो भने इरानले आफ्नो सैन्य प्रतिक्रिया रोक्ने बताएका थिए । तर, अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्नेबारे सहमति नभएको उनले दोहोर्याए । युद्ध इजरायलले शुरू गरेककाले उसैले रोक्नुपर्ने उनको तर्क छ ।
तर, इरानको राज्य-समर्थित तस्निम समाचार एजेन्सीले स्थानीय समय अनुसार मंगलबार बिहान इजरायलले इरानको राजधानी तेहरानका विभिन्न क्षेत्रहरूमा धेरै आक्रमणहरू गरेको रिपोर्ट गरेको छ।
यसअघि आजै बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम सहमति भएको घोषणा गरेका थिए । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले इरानले आफ्नो देशमा आक्रमण बन्द गर्ने सर्तमा इजरायलले युद्धविराम सम्झौतामा सहमति जनाएको दाबी गरेको थियो ।
वार्ताको क्रममा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग प्रत्यक्ष कुराकानी गरेका थिए भने उपराष्ट्रपति जेडी भान्स, विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो र विशेष दूत स्टीव विटकफले इरानीहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट सर्तहरू वार्ता गरेका थिए।
ट्रम्पले कतारका अमीर तमिम बिन हमद बिन खलिफा अल थानीसँग पनि प्रत्यक्ष कुराकानी गरेको सीएनएनले जनाएको छ । जसमा उनले युद्धविराम सम्झौताको मध्यस्थतामा सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।
यता, इजरायली सेनाले जनताका लागि जारी गरिएको निर्देशिकामा अहिलेसम्म कुनै परिवर्तन नगरिएको बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीच युद्धविराममा सहमति भएको दाबी गरे पनि इजरायली सेनाले जनतालाई आधिकारिक च्यानलहरूबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न र पालना गर्न आग्रह गरेको छ।
सेनाले पहिले नै लागू भएका नियमहरू उस्तै रहने स्पष्ट पारेको छ। यसको अर्थ मानिसहरूलाई अझै पनि एकै ठाउँमा भेला हुन अनुमति छैन, विद्यालय र कार्यालयहरू बन्द रहनेछन् र सबैले सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्नुपर्नेछ ।