
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बसेको सत्तापक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको शीर्ष नेताहरूको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरूलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।
सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’का विषयमा प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।