२२ असार २०८३, सोमबार

सिद्धबाबा सुरुङ : ​लाइनिङको काम हुँदै, भौतिक प्रगति ५६ प्रतिशत

असार १८, २०८२
बुटवल
सिद्धबाबा सुरुङ : ​लाइनिङको काम हुँदै, भौतिक प्रगति ५६ प्रतिशत

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गअन्तर्गतको मुख्य सुरुङमा लाइनिङको काम धमाधम भइरहेको छ ।

मुख्य सुरुङमा ​इन्भर्टको काम सकिएर लाइनिङअन्तर्गत ८३४ मिटरको काम सकिएको आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । एक हजार १२६ मिटरमध्ये ८३४ मिटर काम सकिएको हो ।

मुख्य सुरुङमा लाइनिङको काम भने हालसम्म उत्तरतर्फ ३८८ मिटर र दक्षिणतर्फ ४४६ मिटर सकिएको छ ।

यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गएको माघ ११ मा गरिएको थियो । त्यसपछि तीव्र गतिमा काम भइरहेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गको अहिलेसम्मको समग्र भौतिक प्रगति ५६.०३ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको छ ।

यस्तै बाइपास–१ र बाइपास–३ मा पनि ‘इन्भर्ट र लाइनिङ’को काम भइरहेको छ ।

null

१५१ मिटर लम्बाइको बाइपास–१ मा इन्भर्टको १४५ मिटर र लाइनिङको १२४ मिटर काम भइसकेको छ । १६१ मिटर लम्बाइको बाइपास–२ मा अहिलेसम्म ‘इन्भर्ट र लाइनिङ’को काम शुरू भएको छैन ।

१३० मिटर लम्बाइको बाइपास–३ मा इन्भर्टको १२५ मिटर र लाइनिङको ३० मिटर काम भइसकेको योजना प्रमुख अधिकारीले बताए । उनका अनुसार अहिले दैनिक ६०/७० जना कामदारले काम गरिरहेका छन् ।

अब भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । त्यसपछि सुरुङ मार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माणको काम शुरू हुने उनको भनाइ छ ।

कुल एक हजार १२६ मिटर लामो सुरुङमार्ग विक्रम संवत् २०७९ देखि निर्माण शुरू भएको हो । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ । यो आयोजनाको विक्रम  संवत् २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सर्तअनुसार निर्माण शुरू भएको ५ वर्षभित्र अर्थात् विक्रम संवत् २०८३ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने छ ।

यो सडकलाई तराई र पहाड जोड्ने लाइफलाइन सडक मानिन्छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म सवारीसाधन आवतजावत गर्छन् ।

null

null

salt training

कमेन्ट गर्नुहोस्