
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक बाढी प्रभावित क्षेत्र रसुवा जाँदै छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार दिउँसो बाढी प्रभावित क्षेत्रमा जान लागेको बालुवाटार स्रोतले जानकारी दियो ।
उक्त टोलीमा अर्थमन्त्री विष्णु पौडेल, तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीबाट जनधनको ठूलो क्षति भएको छ ।
बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन् ।
दर्जनौं गाडी बगाएको र पुरिएका छन् । नेपाल–चीन सीमामा रहेको मितेरी पुलसमेत बाढीले बगाउँदा दुई देशबीचको सडक सम्पर्क टुटेको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा पनि बेपत्ता छन् ।
बाढीमा परी ६ चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् ।
बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।