
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तबिर पाइन र ललितपुर, ललितपुर महानगरपालिका-१६ धापाखेल बस्ने ३५ वर्षीय बिष्णु कुमार रूम्बा रहेका छ्न् ।
पीडितलाई आफूसँग ६ हजार अमेरिकन डलर छ, ७ लाख नेपाली रकम दिनु भनि असार २२ गते भक्तपुर चागुँनारायण नगरपालिका-४ हलछापस्थित जंगलमा लगि नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको मोबाइल र नगद ७ लाख रूपैयाँ जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२-०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रूपैयाँ, चेक १ थान र मोबाइल १० थान प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।