२७ असार २०८३, शनिबार

बार्सिलोनाका युवा विंगर लामिन यामल अप्ठ्यारोमा, छानबिन अघि बढाउन मन्त्रालयको निर्देशन

असार ३१, २०८२
काठमाडौं
बार्सिलोनाका युवा विंगर लामिन यामल अप्ठ्यारोमा, छानबिन अघि बढाउन मन्त्रालयको निर्देशन

स्पेनको सामाजिक अधिकार मन्त्रालयले क्षमतावान युवा फुटबल खेलाडी लामिन यामलले आफ्नो जन्मदिन मनाउने क्रममा देखाएको गतिविधिलाई लिएर छानबिन अगाडि बढाउन निर्देशन दिएको छ ।

सामाजिक अधिकार मन्त्रालयले सरकारी वकिलको कार्यालयलाई यामलको विषयमा छानबिन अघि बढाउन निर्देशन दिएको हो । यामल स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका प्रभावशाली युवा खेलाडी हुन् ।

विंगर यामलले बार्सिलोनाबाट एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यामलले आफ्नो १८औं जन्मदिन मनाउने क्रममा शारीरिक रूपमा कम उचाइ भएका व्यक्तिलाई मनोरञ्जनको माध्यमका रूपमा प्रयोग गरेको आरोप लागेको छ ।

यामल स्पेनको राष्ट्रिय टोलीका सदस्य पनि हुन् । उनले सन् २०२३ मा स्पेनको सिनियर राष्ट्रिय टोलीमा स्थान पाएका थिए । यामलले केही दिनअघि बार्सिलोनाभन्दा करिब ५० किलोमिटर उत्तर–पश्चिमा रहेको ओलिभेला शहरमा आफ्नो जन्मदिन मनाएका थिए ।

१८औं जन्मदिन मनाउने क्रममा उनले पैसा दिएर शारीरिक रूपमा कम उचाइ भएका व्यक्तिलाई मनोरञ्जनका लागि प्रयोग गरेको आरोप लगाइएको छ । समाचारमा जनाइए अनुसार, स्पेनको कानूनले यस्ता गतिविधिमा रोक लगाएको छ ।

यामलको जन्मदिनको पार्टीमा केही युट्युबर र बार्सिलोनाका थुप्रै खेलाडी पनि सहभागी रहेको दाबी समाचारमा गरिएको छ । शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूको संस्था (एडीईई)ले यस विषयमा सामाजिक अधिकार मन्त्रालयमा उजुरी गरेको थियो ।

सोही उजुरीका आधारमा मन्त्रालयले यामलविरुद्ध आवश्यक छानबिन अगाडि बढाउन निर्देशन दिएको हो । ‘२१औं शताब्दीमा यो अस्वीकार्य काम हो,’ उजुरीमा एडीईईले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्