
नेकपा एमाले केन्द्रीय संगठन विभागले पार्टी सदस्यता नवीकरण पूर्व अनिवार्यरूपमा परीक्षा दिनुपर्ने निर्णय गरेको छ । विभागको २३ औं बैठकले ३ महिने वडा केन्द्रित पार्टी निर्माण अभियानको समीक्षा गरेको विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टी सदस्यता नवीकरण पूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने र त्यसलाई अनलाइनमा लैजाने व्यवस्थामा जाने निर्णय गरेको छ । साथै हरेक वर्ष तोकिएको समयमा नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।
बैठकले समग्र संगठनात्मक कामको समीक्षा गर्दै आगामी वर्ष २०८२/०८३ को लागि वार्षिक कार्ययोजनाको प्रारम्भिक खाका तयार पारेको हो।
विभागका सचिव ढुङ्गेलद्वारा जारी विज्ञप्तिअनुसार बैठकले विधान महाधिवेशनका लागि विधान संशोधनका प्रस्तावमा छलफल गरी सुझाव दिने, संगठनलाई डिजिटल प्रणालीमा लैजाने, सदस्यता नवीकरणलाई अनलाइन परीक्षा प्रणालीसँग जोड्ने र मतदाताको ६ प्रतिशत सदस्य पुर्याउने निर्णय गरेको छ।
साथै, पार्टीका सम्पूर्ण तहमा लघु प्रशिक्षण बैठकको परिपाटी बसाल्ने, करिब १७ हजार टोलमा पार्टी कमिटी गठन तथा अधिवेशन गर्ने, जनसंगठनका अधिवेशन नियमित गर्ने र ‘दुई पुस्ता सँगसँगै’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
संगठनात्मक रिपोर्ट तथा विधान संशोधन प्रस्तावमा मर्यादित ढंगले सहभागी भई सुझाव पठाउन पार्टी कमिटी तथा सदस्यहरूलाई आह्वान गरिएको छ।
पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनका विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकपश्चात् जारी हुने संशोधनको प्रस्तावमा मर्यादित ढङ्गले सक्रियतापूर्वक छलफलमा भाग लिन र आवश्यक सुझाव पठाउन सम्पूर्ण पार्टी कमिटी र सदस्यलाई बैठकले आह्वान गरेको छ ।