
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एसमा प्रवेश गरेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित समारोहबीच गौतम नेकपा एसमा प्रवेश गरेका हुन् ।
पार्टी एकता घोषणा कार्यक्रममा गौतमले शक्ति आर्जन गरेर नेकपा एसमा प्रवेश गरेको बताए । ‘मैले आजसम्म आँटेका काममा असफलता हासिल गरेको छैन । काम गर्ने जिम्मा चाहियो पद चाहिएन, मैले राति दिन काम गर्छु । त्यो सीप क्षमता प्रदान गरेर बिदा हुने हो,’ गौतमले भने, ‘तपाईंहरू कसैको जिम्मेवारी खोस्दिनँ आएको होइन ।’
गौतमले नेकपा एसमा अध्यक्ष माधव नेपाल र झलनाथ खनालपछिको वरीयता पाउने सहमति भएको छ । ‘माधव नेपालसँग २०३६ सालमा चिनजान भएको हो, झलनाथलाई कठिन अवस्थामा साथ दिएको छु,’ गौतमले भने, ‘हिजोको शक्तिलाई आर्जन गरेर ल्याएको छु, म यो पार्टीमा आएकाले पनि नेपाली जनताको लागि शक्ति आर्जन हुन्छ ।’
गौतमले सय वर्षसम्म पनि कम्युनिस्ट आन्दोलनको झण्डा बोकिराख्ने बताए । ‘मर्न परोस् म झुक्ने छैन,’ गौतमले भने ।