
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार अपरान्ह उनीहरूबीच छलफल शुरू भएको हो ।
७ वर्ष राष्ट्रपति भएपछि पुनः एमालेको राजनीतिमा फर्किएको घोषणा गरेको तीन हप्तापछि भण्डारी एमाले पार्टीको केन्द्रीय कार्यालय पुगेकी हुन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओलीसँग उनको यो पहिलो भेटवार्ता हो ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिवालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो ।
यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् ।
एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए ।
