१९ असार २०८३, शुक्रबार

कांग्रेस नयाँ कुरा ग्रहण गर्न तयार छ : गगन थापा

साउन ५, २०८२
काठमाडौं
कांग्रेस नयाँ कुरा ग्रहण गर्न तयार छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुरानो र परम्परागत भन्ने भाष्यबाट माथि उठ्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी संयोजकत्वको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले केन्द्रीय कार्यालय सानेपामा सोमबार गरेको कार्यक्रममा थापाले पार्टीले नयाँ चुनौतीको सामना गर्नुपर्ने बताएका हुन् ।

‘अहिले नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै 'पुरानो, थोत्रो, खराब र मूल्यहीन' भन्ने कुरालाई चिर्नु रहेको छ । समाजमा जबरजस्ती स्थापित गर्न खोजिएको यो नकारात्मक भाष्यबाट बाहिर निस्कनु पर्छ,’ थापाले भने, ‘कांग्रेसले पुरानो हुनुमा आफूलाई गौरव गर्नुपर्छ । पुरानो पार्टीले देशमा थुप्रै परिवर्तन र योगदान गरेको छ । सँगसँगै, नयाँ परिवेश र नयाँ कुरा सिकेर अघि बढ्न पनि कांग्रेस तयार हुनुपर्छ ।’

कांग्रेस समाजको नयाँ कुरा सिक्न पनि तयार रहेको उनले बताए ।

‘हामीलाई पुरानो भएकोमा गौरव छ । हामीलाई आफ्ना धेरै परम्पराहरूमा गौरव छ । यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली कांग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ,’ थापाले भने, ‘तर हामी सँगसँगै नयाँ जमानाको, नयाँ समाजका कुरालाई सिक्न पनि तयार छौं । सुन्न पनि तयार छौं । ग्रहण गर्न पनि तयार छौं । आफूलाई नयाँ कुराको लागि तयार हुन पनि तयार छौं । पुराना जुन राम्रा कुरा छन् त्यसलाई जोगाउँछौं, नयाँ कुरा थप्दै जान्छौं । नयाँ ज्ञानको खोजि गर्दछौं ।

आजको समाजको समाधानलाई इतिहासको चेत राखेर पुरानो कुराबाट पनि हेर्नुपर्ने उनले बताए । ‘२००७, २०४६, २०६२ को चर्चा गर्दछौं, त्यो आन्दोलनको चस्माले पनि हेर्दछौं,’ थापाले भने, ‘सँगै आजको समाजलाई आजकै युगको चेतनाका आधारमा बुझ्ने प्रयास गर्दछौं र भोलिका निम्ति बाटो देखाउने प्रयास गर्दछौं भन्ने कांग्रेस बनाउनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्