२९ असार २०८३, सोमबार

आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको छ- उपप्रधानमन्त्री सिंह

साउन ७, २०८२
महोत्तरी
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको छ- उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका-१ मा नवनिर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’को उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिंहले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र हाल नेपाली कांग्रेस पार्टीभित्रै द्वन्द्व बढेको कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए । 

उनले पार्टीभित्रै एक अर्काभित्र आरोप प्रत्यारोप र हिलो छ्याप्ने कामले संगठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर संघीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औंल्याउँदै यस्तो परिस्थितिमा आजको आवश्यकता पार्टीलाई बलियो बनाउनु रहेको बताए । 

उपप्रधानमन्त्री सिंहले अहिले पार्टीका सबै नेता कार्यकर्ताले संगठन सुदृढीकरण तथा सहकार्य र समन्वयमा पार्टीलाई बलियो बनाउँदै लैजानुको विकल्प नरहेको बताए ।

नेता सिंहले मधेशमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेकाले यसका लागि संघीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने बताए । 

उपप्रधानमन्त्री सिंहले संघीय शहरी विकास मन्त्रालयको सहयोगमा जलेश्वरमा नवनिर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’ले जलेश्वर नगरपालिका क्षेत्रभित्रका जनताका लागि बहुउपयोगी सावित होस् भन्ने आशा व्यक्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्