
बिना फाउन्डेसनले ‘कोशी विचार उत्सव’ कार्यक्रमको भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।
फाउन्डेसनले विभिन्न व्यक्ति ल्याएर २०८१ फागुन १५, १६ र १७ गते विराटनगरमा कार्यक्रम गरेको थियो । कार्यक्रमका लागि फाउन्डेसनले प्रयोग गरेको टेन्ट हाउस, साउण्ड सिस्टम, होटल, प्रेस छपाई, विज्ञापनलगायतको खर्च नदिएको भन्दै उजुरी परेको हो ।
उजुरीमा ट्रेड हाउस साउण्ड सिस्टम, नेशनल साउण्ड सिस्टम र गीता टेन्ट हाउसको ३ लाख, होटल स्वागतममा बसेको र खाएको २ लाख ६४८ रूपैयाँ, मयुरी डिजिटल प्रि प्रेसमा ९९ हजार, एमएनएम प्रिन्टिङ प्रेसको १ लाख १६ हजार र मकालु मिडिया प्रालिको १ लाख ५० हजार रूपैयाँ नदिएको उल्लेख छ ।
रकम नदिँदा आफ्नो व्यवसाय धराशायी बनेको उनीहरूको भनाइ छ । उक्त कम्पनीलाई झिकाएर कानूनी कारबाही गरी रकम असुलउपर गरिदिन उजुरीमा माग गरिएको छ ।
बिना फाउन्डेसनका सञ्चालक वरुण झाले केही समय ढिलो भुक्तानी भएको स्वीकार गरेका छन् ।

