
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रेशम चौधरीका बुवा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ ।
बिहीबार बानेश्वरमा आयोजित राष्ट्रिय भेलाले लालवीरलाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको नाउपा सांसद अरुण चौधरीले लोकान्तरलाई जानकारी दिए ।
यसअघि रेशमपत्नी रञ्जिता श्रेष्ठ नाउपाको अध्यक्ष थिइन् । बुधबार मात्रै नाउपाले रञ्जितालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
पार्टीभित्रको मतभेद चर्किँदै जाँदा बिहीबार नै रञ्जिताले अध्यक्षकै हैसियतमा पार्टी संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छिन् ।
रञ्जिताले स्पष्टीकरण सोधेकोप्रति सांसद अरुण चौधरीले आश्चर्य प्रकट गरेका छन् ।
'अस्ति आफैंले अध्यक्ष छाडेँ भन्नुभएको थियो, आज कसरी फेरि अध्यक्ष भइहाल्नुभयो ?' आश्चर्य व्यक्त गर्दै चौधरीले भने ।
लामो समयदेखि नाउपामा विवाद चल्दै आएको थियो । पछिल्लो समय पोखराको जग्गा प्रकरणमा रञ्जिताको नाम जोडिएपछि यो विवाद उत्कर्षमा पुगेको हो ।