०२ साउन २०८३, शनिबार

एनपीएल क्रिकेट : चितवन राइनोजको प्रमुख प्रशिक्षकमा कलाम अली र मेन्टरमा मनिष साखलकर

साउन २४, २०८२
काठमाडौं
एनपीएल क्रिकेट : चितवन राइनोजको प्रमुख प्रशिक्षकमा कलाम अली र मेन्टरमा मनिष साखलकर

फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीमध्येको एक चितवन राइनोजले दोस्रो संस्करणका लागि नयाँ प्रमुख प्रशिक्षक, मेन्टर र टोली निर्देशक घोषणा गरेको छ ।

चितवन राइनोजले प्रमुख प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको हो । कलाम अली नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । क्लबका अनुसार, उनले यसअघि नेपालको राष्ट्रिय टोली, ‘ए’ टोली, महिला राष्ट्रिय टोली, वागतमती प्रदेशको टोली र विभिन्न घरेलु फ्रेन्चाइज टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

कलाम अली एनपीएलको पहिलो संस्करणमा चितवन राइनोजका बलिङ प्रशिक्षक थिए । उनको प्रमुख प्रशिक्षकत्वमा टोलीले एनपीएलको दोस्रो संस्करणमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास चितवन राइनोज व्यवस्थापनले लिएको छ ।

यसैगरी, चितवन राइनोजले आफ्नो मेन्टरमा मनिष साखलकरलाई नियुक्त गरेको छ । उनले मुम्बईको उमेरसमूह स्तरमा र हरियाणाको तर्फबाट चर्चित रणजी ट्रफीमा प्रतिनिधित्व गरिसकेको क्लबले जनाएको छ ।

‘पारस म्हाम्ब्रे, अमोल मुझुमदार, चन्द्रकान्त पण्डित, अजित अगारकरजस्ता क्रिकेटरको सुनौलो पुस्ताबाट आएक साखलकर विशाल क्रिकेट ज्ञानको भण्डारसहित चितवन राइनोजमा आबद्ध भएका छन्,’ क्लबका अध्यक्ष आयुष न्यौपानेले भनेका छन् ।

यसैगरी टोली निर्देशकमा राजन शाहलाई नियुक्त गरिएको चितवन राइनोजले जनाएको छ । उनले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

‘राजन शाहको तिक्ष्ण रणनीतिक सोच र डेटा–आधारित विश्लेषणले महिला राष्ट्रिय टिम, नेपाल ए टिम र यू–१९ पुरुष टोलीलाई लाभ पूर्‍याएको छ । एक दशकभन्दा लामो समयदेखि नेपाली क्रिकेटमा सक्रिय रहेका उनको आगमनले क्लबलाई फाइदा पुग्ने विश्वास लिएका छौँ,’ क्लबका सीओओ डा. आशिष खड्काले भनेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्