०३ असार २०८३, बुधबार

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन संघर्ष समिति गठन

नियमित सञ्चालनमा नआए चुनाव बहिष्कारको चेतावनी
साउन २५, २०८२
बुटवल
गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन संघर्ष समिति गठन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका पटक-पटक संघर्ष गर्दै आइरहेका व्यवसायी र स्थानीय तहले सरकारलाई दबाब सिर्जना गर्न पुन: संघर्ष समिति गठन गरेका छन् ।

आइतबार सिद्धार्थनगर नगरपालिकामा भैरहवामा सम्पन्न उद्योगी, व्यवसायी र जनप्रतिनिधिको बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि दबाब दिन संघर्ष समिति गठनको निर्णय गरेको हो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिको सहसंयोजकमा सिद्धार्थनगरका उपप्रमुख उमा अधिकारी र सदस्यहरूमा सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन् ।

यस्तैगरी, अन्य सदस्यहरूमा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली छन् ।

समितिले एक हप्तामा विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पार्ने छ । त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी समितिको छ । 

साथै सबै पार्टीका जिल्लास्थित र केन्द्रका नेताहरूलाई भेट गरी ध्यानाकर्षण गराइने छ । त्यसपछि विमानस्थल नियमित सञ्चालनमा नआउँदासम्म निरन्तर दबाबका कार्यक्रम गरिने नगर प्रमुख खाँले बताए ।

नगरपालिकाको पहलमा आइतबार भैरहवामा आयोजित निजी क्षेत्र र संघसंस्थाहरूबीचको छलफलमा सहभागी निजी क्षेत्र र सरोकारवालाले अब संघर्ष गरेर जानुपर्ने निचोड निकालेपछि संघर्ष समिति गठन गरिएको छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।

चुनाव बहिष्कारको चेतावनी

बैठकमा सहभागी उद्योगी–व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआए आगामी कात्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

मुलुकका दुई ठूला दल कांग्रेस र एमालेको संयुक्त सरकार हुँदा समेत विमानस्थल नियमित सञ्चालनमा ध्यान नदिएको गुनासो उनीहरूको छ । नगरले आफैंले नेतृत्व गरेर जस्तोसुकै आन्दोलन गर्न तयार रहेको नगर प्रमुख खाँले बताए ।

उपप्रमुख अधिकारीले उपनिर्वाचन नजिकिदै जाँदा सबै दलका ठूला नेता रुपन्देही आउने भएकाले पहिलो चरणमा ती नेताहरूलाई भेटेर छलफल गरी दबाब सिर्जना गर्नुपर्ने बताइन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले सबैभन्दा पहिला विमानस्थल चलाउन आवश्यक कार्यालय खोलिनुपर्ने बताए ।

सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अब आन्दोलनको विकल्प नभएको बताए ।

तीन वर्षअघि उद्‌घाटन भएको विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान छैनन् । केही समय दुई/चार वटा अन्तर्राष्ट्रिय एयरलाइन्स आए पनि विभिन्न कारण देखाउँदै उडान कटौती गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्