
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजना हुन लागेको ‘नाडा अटो शो २०२५’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रधानमन्त्री ओलीले प्रमुख अतिथिको रूपमा उद्घाटन गर्ने भएका हुन् ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई कार्यक्रमको निम्तो दिएको हो ।
भेटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए ।
अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, पहिलो पटक नेपालमा प्रदर्शन हुँदै गरेका रोबर्ट्स र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिए ।
प्रतिनिधिमण्डलको आग्रहलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेका नाडाले जनाएको छ ।
भेटवार्तामा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेललगायतको सहभागिता थियो ।