
‘मत चोरी’को आरोप लगाउँदै दिल्लीमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने क्रममा कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पक्राउ परेका छन् ।
कांग्रेस नेता राहुलको नेतृत्वमा करिब ३०० सांसद सहभागी प्रदर्शन संसद् भवनको मकर द्वारबाट निर्वाचन आयोगको कार्यालयतर्फ अघि बढेको थियो ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले प्रहरीको कडा सुरक्षाबीच राखिएको ब्यारिकेड नाघेर अघि बढेपछि अन्य नेताहरूले उनलाई सम्हाले । उनले उत्तर प्रदेशमा मत लुट्ने काम भइरहेको दाबी गर्दै आयोगले गुनासो गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
प्रदर्शनका क्रममा राहुल गान्धीलाई प्रहरीले रोक्दा उनले अन्य सांसदहरूसँगै सडकमा बस्दै अघि बढ्न दिन माग गरेका थिए । त्यसको केहीबेरपछि राहुल गान्धी र प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच, टीएमसी सांसद महुआ मोइत्रा प्रहरीको बसभित्रै बेहोस भएकी छन् । उनलाई बसमै राहुल गान्धीले पानी खुवाएका थिए । पश्चिम बंगालकी सांसद मिताली बाग पनि सडकमै बेहोस भइन्, त्यसपछि नेताहरूले पानी छ्यापेर होस ल्याउने प्रयास गरे ।
पक्राउ पर्नुअघि राहुल गान्धीले संविधान र ‘एक व्यक्ति, एक मत’को लडाइँको रक्षा गर्न प्रदर्शन गरिएको बताए । प्रियंका गान्धीले सरकारलाई ‘कायर र डराएको’ भन्दै आलोचना गरिन् । प्रदर्शनमा सहभागी सञ्जय राउत, सागारिका घोषलगायत सांसदहरू पनि पक्राउ परे । तर, उनीहरू केहीबेरमै रिहा भए ।
कांग्रेस नेता रणदीप सुरजेवालाले मोदी सरकार र चुनाव आयोगबीच गठजोड रहेको दाबी गर्दै जनताले यसलाई अस्वीकार गरिसकेको उल्लेख गरे । कांग्रेस सांसद शशि थरूरले निर्वाचनमा जनताको शंका रहँदा आयोगको विश्वसनीयता घट्ने बताए ।
पक्राउ परेका सांसदहरूलाई संसद् मार्ग प्रहरी कार्यालयमा लगिएको थियो । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सरकारले विपक्षको आवाज दबाउन खोजेको र उनीहरूलाई चुनाव आयोगसम्म पुग्न नदिएको आरोप लगाएका छन् ।