३२ असार २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

रामहरिको राजीनामादेखि मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेजसम्म

साउन २८, २०८२
काठमाडौं
रामहरिको राजीनामादेखि मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेजसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ । गृहसचिवस्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत  दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।
००००
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार साँझ प्रदेशसभामा भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् ।

विश्वासको मतको पक्षमा ६३ प्रदेशसभा सदस्यले मत दिए भने विपक्षमा २२ मत परेको छ । यसैगरी ७ सदस्य तटस्थ रहेका छन् ।
११० सदस्य रहेको बागमती प्रदेशभामा मंगलबारको बैठकमा ९२ जना सांसद सहभागी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
००००
नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर–३, को उपनिर्वाचनमा आकांक्षीमध्येबाट एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउने तयारी गरेको छ । 

यसका लागि क्षेत्रीय कमिटीबाटै एक जनालाई सिफारिस गर्नेगरी छलफल चलाएको छ । एमाले जिल्ला कमिटी रुपन्देहीको मंगलबार बुटवलमा बसेको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार छनोटका लागि क्षेत्रीय कमिटीबाटै टुंगो लगाउनेलगायतका निर्णय गरेको प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले जानकारी दिए ।

००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको व्यवस्थापन परीक्षणमा तीन संघीय मन्त्रालयसहित ५ निकायको व्यवस्थापन निकै कमजोर रहेको पाइएको छ ।

संघ सरकारअन्तर्गतका १७ मन्त्रालय र ८ विभागसहित २५ वटा निकायमा गरिएको व्यवस्थापन परीक्षणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य सेवा विभाग र राजश्व अनुसन्धान विभागको व्यवस्थापन अत्यन्त कमजोर रहेको पाइएको हो ।
००००
पर्साको वीरगञ्ज कारागारका एक कैदीको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन भएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) बाबुलाल रेग्मीको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति बनाइएको हो ।
००००
नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शान्ति प्रक्रियाको नायक कांग्रेस रहेको बताएका छन् । 

कांग्रेस तनहुँले सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसका अवसरमा मंगलबार भिमाद नगरपालिका–६ मा आयोजना गरेको स्मृति सभामा उनले विगतदेखि नै विद्रोही समूहलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गरे ।  
००००
नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ।

गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मङ्गलबार जारी गरेको पत्र अनुसार, प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रचलित नियमावलीका आधारमा उनीहरूको सरुवा तथा काज गरिएको हो। यस्तै १३ जनाको पदस्थापन भएको छ । 
००००
ध्रुव बहादुर प्रधानको संयोजकत्वमा नेपाल ओलम्पिक कमिटी (एनओसी)को नौ सदस्यीय तदर्थ समिति गठन गरिएको दाबीसहित मंगलबार एक प्रेस विज्ञप्ति जारी गरिएको छ । 

ओलम्पिक कमिटीमा आबद्ध २३ वटा खेल संघका अध्यक्ष, महासचिव र पदाधिकारीहरूको भेलाले उक्त तदर्थ समिति गठन गरेको दाबी प्रेस विज्ञप्तिमा गरिएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तत्काल काठमाडौँको कारागारमा सार्न सरकारसँग माग गरेका छन्।

मंगलबार दोस्रो पटक भैरहवा कारागार पुगेका लिङ्देनले लामिछानेसँग स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि तथा रुपन्देहीमा हुने उपनिर्वाचनलगायतका विषयमा कुराकानी गरेको जानकारी दिएका छन्।
००००
सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ ।
 

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो ।
००००
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताएका छन् । 
नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताएका हुन् ।
००००
संघीय निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गायब भएको विवादमा तानिएका प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधनमार्फत् खतिवडाले राजीनामा दिएका हुन् । ‘कुलिङ पिरियड जसरी पनि राख्नुपर्छ भनेर अड्डी लिएको थिएँ । हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहनेछु’ खतिवडाले सम्बोधनका क्रममा भने । 

अवकाशको समय नजिकिँदा कर्मचारीको उच्च नेतृत्त्व भोलिको लागि पद सुरक्षित गर्न जस्तोसुकै काम गर्न तयार भएको उनले आरोप लगाए । ‘स्थायी सरकार हामी हौं,अरु अस्थायी हुन्’ भन्ने मानसिकता कर्मचारीमा देखिएको उनले बताए । अवकाशपछि नभए राजीनामा दिएकाको हकमा पनि दुई वर्षको कुलिङ पिरियडको सहमति भएको खतिवडाले बताए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित सम्बन्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएका हुन् ।
००००
नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रूपैयाँ गायब भएको तथ्य सार्वजनिक भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा यस विषयमा उजुरी समेत दर्ता भएको छ। ब्यूरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रूपैयाँ बैंक खाताबाट गायब भएको पाइएको छ ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता अनिल कुमार झाको राजीनामा साउन ४ गते स्वीकृत भएको पाइएको छ ।
२०८१ चैत ८ गते झाले  पार्टीको वरिष्ठ नेतासहित साधारण सदस्य समेतबाट सोही मितिदेखि लागू हुनेगरी राजीनामा गरेका थिए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।

मङ्गलबार नेप्से परिसूचक २६.२२ अङ्कले घटेर २७९६.२४ को विन्दुमा कायम भएको हो । अघिल्लो दिन सोमबार नेप्से २७.९० अङ्कले घटेर २८२२.४६ को विन्दुमा बन्द भएको थियो । 
००००
नेपालले भारतलाई थप १९९ दशमलव ७ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यससँगै नेपालबाट भारतमा निर्यात हुने कुल विद्युत् ११४० दशमलव ७ मेगावाट पुगेको छ । प्राधिकरणका अनुसार, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअन्तर्गत यो परिमाणको बिजुली आयात गर्न अनुमति दिएको हो ।
००००
नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी अनुशासन उल्लङ्घन हुनेगरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले निर्देशन दिएको हो ।     

salt training

कमेन्ट गर्नुहोस्