३० जेठ २०८३, शनिबार
कांग्रेस केन्द्रीय कार्यालयमा भीड

कांग्रेस कार्यालयको फेरिएको दृश्य– नयाँ शैलीका कार्यक्रम, दिनदिनै पुग्न थाले देउवा

साउन २८, २०८२
काठमाडौं
कांग्रेस कार्यालयको फेरिएको दृश्य– नयाँ शैलीका कार्यक्रम, दिनदिनै पुग्न थाले देउवा

‘पार्टी कार्यालय जान छाडे नेता’, ‘निवासमै कार्यकर्ताको भीड’ केही वर्ष अघिसम्म कांग्रेसको सन्दर्भमा यस्तो समाचार निकै आम थियो । तर, पछिल्लो समय यसमा केही सुधार देखिन थालेको छ ।

महिना होइन, वर्षको एक–दुईपटक मात्रै मुस्किलले पार्टी कार्यालय पुग्ने गरेका सभापति शेरबहादुर देउवा पछिल्लो केही महिनायता दिनदिनै, नभए पनि एक दिन बिराएर ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय पुग्ने गरेका छन् ।

मुख्यगरी कांग्रेसका केन्द्रीय विभागमा संयोजक र सदस्य चयन भएपछि केन्द्रीय कार्यालयमा कसले प्रभावकारी कार्यक्रम गर्ने भनेर प्रतिस्पर्धा चलेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा बताउँछन् ।

‘कांग्रेसमा जब विभागहरू सक्रिय हुन थाले, तब केन्द्रीय कार्यालय विश्वविद्यालयजस्तो भएको छ । अध्ययन, भेटघाट, छलफल भइरहेको छ । नेता आएपछि कार्यकर्ता आउँछन् । विचार, विमर्श सुन्न, बुझ्न पाउने स्थिति बनेको छ,’ शर्माले भने, ‘पार्टीमा विभाग बनेपछि व्यस्तता बढ्यो । आ–आफ्नो कार्यक्रम गर्न थाले । एउटाले गरेपछि प्रतिस्पर्धाजस्तो भयो, अनि अर्को विभाग पनि सक्रिय बनेर कार्यक्रम गर्दा इनर्जी थपिएको छ ।’

अर्का एक नेताले सभापति झन् तगडा हुँदै गएको बताए । ‘सभापति विभागको हरेक कार्यक्रममा प्रमुख अतिथि बन्दै आउनुभएको छ । एआईको बहसदेखि कुनै कार्यक्रम छुटाउनुभएको छैन,’ ती नेताले भने, ‘बुढेसकालमा पनि झन् तगडा हुँदै आउनुभएको छ ।’

null

केन्द्रीय कार्यालय होस् वा बाहिर कांग्रेस सहितका दलका कार्यक्रम परम्परागत राजनीतिक भाषणमै केन्द्रित हुन्थे । प्राविधिक विषयसँग सम्बन्धित कार्यक्रममा पनि नेताहरूले पट्यारलाग्दो भाषण गर्थे । तर, पछिल्लो एक डेढ वर्षयता कांग्रेसले यस्तो पुरानो ढर्रा फेरेको छ । लाखौं तिरेर होटलमा गर्दै आएका कार्यक्रम पनि केन्द्रीय कार्यालयकै हलमा गर्ने अभ्यास कांग्रेसले थालेको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा परम्परागत राजनीतिक ढर्राका कार्यक्रमबाट माथि उठ्नु समयको माग भएको बताउँछन् ।

‘पहिले हामीसँग विविधता थिएन । त्यसैले पट्यारलाग्दा लामा राजनीतिक भाषणमै कांग्रेसका कार्यक्रम केन्द्रित हुन्थे । किनकि प्रविधिको विकास थिएन । पार्टीको कुरा गरेर मात्रै मतदातालाई आकर्षित गर्ने प्रतिस्पर्धा थियो,’ विश्वकर्माले भने, ‘अब हाम्रा मतदाता परम्परागत छैनन् । फरक वर्ग, पेशा, समूहलाई लक्षित गर्नैपर्ने भएको छ । यसैले फरक मतदाता मात्रै होइन, शुभेच्छुकको पहिचानका लागि पनि हामीले फरक–फरक नामका विभाग बनायौं । यी चलायमान हुँदा हामीले हाम्रो सन्देश तल्लो तहमा पठाउन सकेका छौं ।’

नेताको घरको भीड केन्द्रीय कार्यालयतिर सरेको विश्वकर्मा बताउँछन् ।

‘मिडियाले पनि लामो समयदेखि कांग्रेस नेता कार्यालय जाँदैनन् । घरैलाई तीर्थस्थल जस्तो बनाए भनेर लेख्दै आएका थिए,’ विश्वकर्मा भन्छन्, ‘हामी कम्तीमा यो अभ्यासलाई विस्तारै तोड्दै पार्टी कार्यालयलाई जीवन्त बनाउनतिर अग्रसर छौं । बैठक बस्दाबाहेक केन्द्रीय कार्यालय नजाने नेताहरू हरेक दिन, अझै दुईवटै कार्यक्रम राखेर केन्द्रीय कार्यालय पुग्दा पार्टी कार्यालय साँच्चै जीवन्त भएको छ । यसलाई अझै बढाउनुपर्छ ।’

हुन पनि पछिल्लो समय कांग्रेस केन्द्रीय कार्यालयमा हुने प्राविधिक विषयका कार्यक्रममा सहभागी हुनेको तछाँडमछाड चल्न थालेको छ ।

कांग्रेसले साउन ११ गते केन्द्रीय कार्यालय सानेपामा ‘आर्टिफिसियल इन्टेलिजेन्स फर नेपाल्स डेभलपमेन्ट’ नामक कार्यक्रम गरेको थियो । जुन पट्यारलाग्दो राजनीतिक भाषणका केन्द्रित थिएन । विज्ञान तथा सूचना प्रविधि विभागले गरेको कार्यक्रम नेताका परम्परागत भाषणभन्दा एआईले विश्वमा ल्याएको क्रान्तिबारे छलफल केन्द्रित थियो ।

नेपाली जनजीवनमा एआई कसरी जोडिन्छ । यो प्रविधि भित्र्याउन जनशक्ति, पूर्वाधार र डाटा सेन्टरका लागि राज्यले कसरी लगानी बढाउनुपर्छ भन्नेमा छलफल केन्द्रित थियो ।

प्राविधिक विषयमा खासै नबोल्ने सभापति देउवाले समेत प्रमुख अतिथिका रूपमा एआईमा केन्द्रित रहेर बोलेका थिए ।

‘सही ढंगले एआई प्रयोग गर्न सकिए एकै क्लिकमा विकासको गति बढाउन सकिन्छ’ देउवाले भनेका थिए, ‘सेवा प्रवाहमा समेत हामी जान सक्छौं । यसैले अब हरेक विषयलाई डिजिटाइज गर्नुपर्छ ।’ इन्जिनियर, आईटीविज्ञ, अनुसन्धानकर्मी, डाटा विश्लेषक सहभागी भएको सो कार्यक्रमको उद्घाटनसमेत देउवाले मोबाइल एपमार्फत पानसमा बत्ती बालेर गरेका थिए ।

पछिल्ला केही महिनायता कांग्रेसका हरेक विभागले केन्द्रीय कार्यालयमा कार्यक्रम गरिरहेका छन्, जसमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता सहभागी हुँदै आएका छन् ।

पछिल्लो महिना दिनहुँसो केन्द्रीय कार्यालयमा कार्यक्रम छुटेको छैन । एकै दिन दुई तीनवटा कार्यक्रमसमेत भइरहेका छन् । बागमती कांग्रेसका असन्तुष्ट प्रदेशसभा सदस्यले आइतबार केन्द्रीय कार्यालयमै पुगेर सभापति देउवासँग छलफल गरेका थिए ।

सोमबार प्राकृतिक स्रोत विभागमा चोभारको विषयमा छलफल कार्यक्रम राखिएको थियो । ‘प्राकृतिक प्रकोपको जोखिममा उपत्यका – नख्खु बाढी २०८१ : सिकाइ र अबको बाटो’ विषयक कार्यक्रममा महामन्त्री थापा, काठमाडौंका जनप्रतिनिधिलगायत सहभागी थिए ।  

सोही दिन दिउँसो भ्रातृ संस्थाको अधिवेशनका लागि बनेको निर्देशन समितिसँग निर्देशिकाको विषयमा दुई उपसभापति, दुई महामन्त्री सहितले छलफल गरेका थिए ।

उपसभापति पूर्णबहादुर खड्काले शुभेच्छुक संस्थासँग छुट्टै छलफल गरेका थिए ।

null

केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानले बुधबारदेखि केन्द्रीय कार्यालयमै अर्को प्राविधिक विषयमा तालिम दिँदैछ । ‘प्रतिष्ठानले बुधबारदेखि कसरी रिसर्च गर्ने, प्रस्ताव लेखक, प्रिन्सिपल मेथडदेखि प्रतिवेदन लेखनसम्म कसरी गर्ने भनेर विज्ञ बोलाएर तीन घण्टा पढाउँदै छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘पार्टी सदस्य बाहिरका इच्छुकलाई पनि लक्षित गर्दै हामी यो कार्यक्रम गर्दैछौं ।’

पार्टीले गरेको अभ्यास र बहसमा सभापति पनि दौडिएको विश्वकर्मा बताउँछन् । ‘सभापति पनि हाम्रो दौडमा मिसिनुभएको छ,’ विश्वकर्माले भने, ‘भ्यालीबाहिर मात्रै होइन, भित्र पनि भिड्नुभएको छ ।’

साउन २९ गते प्रचार विभागले डिजिटल प्लेटफर्मको प्रभाव र असरबारे कार्यक्रम गर्दैछ ।

साउन ३० र ३१ गते राष्ट्रिय मगर संघको महाधिवेशन केन्द्रीय कार्यालयमै हुँदैछ, जसको उद्घाटन सभापति देउवाले गर्दैछन् । भदौ २ गते अब्दुल सतार संयोजक रहेको शुभेच्छुक संस्था समन्वय विभागले संस्थासम्बन्धी तीज विशेष कार्यक्रम गर्दैछ ।

भदौ ४ गते प्रदीप गिरीको विषयमा नैनसिंह महरको स्कूल अफ डेमोक्रेसी नामक संस्थाले कार्यक्रम गर्दैछ । जसमा सभापति देउवा नै प्रमुख अतिथि बन्नेछन् । भदौ ६ गते आदिवासी जनजाति महासंघको कार्यक्रम हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्